बुटवल, ६ असार । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लाको ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ४५ जनाको उम्मेदवारी परेकोमा मंगलवार मेयर सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
तिलोत्तमा नगरपालिकाका स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका गणेश पाठक, उप मेयर महाशर्मा न्यौपाने, वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार निरबहादुर खड्का र वडा नम्बर १३ का अध्यक्षका उम्मेदवार धनलाल अधिकारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्र भुसालले जानकारी दिनुभयो ।
यस्तै बुटवल उपमहानगरपालिकामा एक उपमेयर सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरमा स्वतन्त्रवाट उपमेयरमा उम्मेदवारी दिएका हुमनाथ न्यौपाने, वडा नम्बर २ वाट स्वतन्त्र अध्यक्ष उम्मेदवार महेन्द्र राजभण्डारी, वडा नम्बर ६ का राप्रपाका सदस्य उम्मेदवार सुरज गुरुङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष उम्मेदवार नारायण खनाल र वडा नम्बर १७ का नयाँ शक्तिवाट सदस्यका उम्मेदवार केशव गैरेले उम्मेदवारी फिर्ता लिनु भएको निर्वाचन अधिकृत भरतमणि पाण्डेले बताउनु भयो ।
त्यस्तै देवदह नगरपालिकामा राजमोवाट उप मेयरमा उम्मेदवारी दिनु भएकी धनकुमारी थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ । सिद्धार्थ नगरपालिका वर्डा नम्बर ६ की संघीय समाजवादीकी सदस्य अनुपमा हरिजन, स्वतन्त्र वडा नम्बर ९ का रवि गुप्ता, वडा नम्बर २ का अध्यक्ष सन्जिव गुरुङ, ४ का वडा अध्यक्ष नन्दलाल यादव र वडा सदस्य सनवार अलि तेलीले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सैनामैना नगरपालिकामा राप्रपाका वडा नम्बर ४ का सदस्य लिलबहादुर थारु, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार सन्जित मल्ल ठकुरी र वडा नम्बर ८ का स्वतन्त्रका अध्यक्षका उम्मेदवार घनश्याम पाण्डेले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ ।
सियारी गाउँपालिकावाट १, समरिमाईमा २, कंचन मा १ र ओमसतिया १ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।