बुटवल, ७ असार । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बुटवलका बिभिन्न स्थानमा कोण सभा गरेका छन् । बुटवलको मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका दुई दलले संयुक्त रुपमा प्रचार प्रसारका कार्यक्रम गर्दै आएका हुन् । सोही अनुसार नै बुधबार बुटवलको वडा नं. १३ मा चुनावी कोणसभा गरिएको हो ।
कोण सभामा बोल्दै नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डे र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले बुटवललाई नमुना नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफूहरुले अंगाडी सारेका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो । बुटवलाई मुलुककै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने र त्यसकालागि आवश्यक पर्ने पूर्वाधारहरु बिकास गर्ने, त्यो भन्दा पहिला नै सुकुम्बासी रहित नगरपालिका बनाउने, शिक्षा, स्वास्थ्य, खेलकुद र उद्योगमा बुटवल हवको रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विनोद पहाडी, माधव शर्मा, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी टीका ओली लगायतले आफूहरुसंग बिकार र समृद्धिको एजेण्डा भएकाले संयुक्त गठबन्धनमा मतदान गर्न आग्रह गरेका थिए । नेपाली काँग्रेसले वुटवलको वडा नं. १ र २ मा पनि कोण सभा गरेको छ ।
त्यस्तैगरी बुधबार नै बुटवलमा भएको महिला व्यबसायीहरुको भेलालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पाण्डेले महिलाहरुले सञ्चालन गरेको उद्योग व्यबसायलाई हरेक हिसावले सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने वातावरण बनाउनु बताउनु भयो । नेपाल व्यूटिसियन संघ रुपन्देहीले बुटवलमा गरको भेलामा उहाँले महिलाले सञ्चालन गर्ने उद्योग व्यापार व्यबसायलाई कसरी प्रवद्धन गर्न सकिन्छ, महिलालाई कसरी माथी उठाउन सकिन्छ, त्यसकुरालाई आफूले बिशेष महत्व दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महिलाले गरेको लगानीलाई कसरी सुरक्षित गर्न सकिन्छ र स्वयम महिलाको उद्यमीको पनि कसरी सुरक्षा गर्न सकिन्छ ? त्यसमा बिज्ञको टोली बनाएर राय सुझाव अनुसार काम गर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व सांसद विनोद पहाडी, उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, महाधिवेशन प्रतिनीधि युवराज गिरीले नेपाली काँग्रेस र माओवादीको संयुक्त गठबन्धनमा मतदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल व्यटिसियन संघकी केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्य, सचिव अनिता केसी, बुटवल नगर अध्यक्ष विष्णु थापालगायतले महिलाले सञ्चालन गर्ने उद्योग, व्यापार, व्यबसायमा धेरै चुनौती रहेको बताउँदै लगानीको सुरक्षा तथा स्वयम महिला उद्यमीको जीउ धनको सुरक्षा संवेदनशिलता बढी भएको बताएका थिए ।