बुटवल, ८ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको मेलमिलापको नीति अनुसार नै आसन्न स्थानीय तहको निर्वाचनमा बिभिन्न स्थानमा बिभिन्न पार्टीसंग चुनावी एकता गरेको प्रष्ट पार्नु भएको छ । स्थानीय तहदेखि नै मुलुकमा बिकास र समृद्धिलाई साथसाथै अगाडी बढाउनकालागि यो एकता कोषेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमाको मणिग्राममा बिहिबार नेपाली काँग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचन परिचालन समिति तिलोत्तमाले आयोजना गरेको संयुक्त आम सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको र उक्त संविधान कार्यान्वयनकालागि नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनु भयो । उक्त जिम्मेवारी पुरा गर्नकालागि नेपाली काँग्रेस जिम्मेवारी बोध गरेर स्थानीय तह निर्वाचनमा उपर्युक्त दलहरुसंग तालमेल गरि अगाडी बढेको उहाँले प्रष्ट पार्नुभयो ।
‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीको यथोचित बिकास गर्न सके रुपन्देही जिल्ला विश्वको पर्यटनको केन्द्र बन्न सक्छ, त्यस्तै रुपन्देही कृषि तथा औद्योगिक बिकासको उच्च सम्भावना बोकेको जिल्ला पनि हो ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि नेपाली काँग्रेससंग भिजन छ, यो सपना नेपाली काँग्रेसले पुरा गर्न सक्छ ।’
नेकपा एमाले नौटंकी राष्ट्रवादको ठेकेदार भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्व गरेको उल्लेख गर्नुभयो । उहाँले एमालेप्रति प्रश्न गर्दै भन्नुभयो–‘मुलुकमा यति धेरै परिवर्तन भए, कुन परिवर्तनमा एमालेले नेतृत्व गरेको छ ?’
त्यस्तैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा काँग्रेस र जनमुक्ति बिचको चुनावी तालमेल देखेर बिपक्षिहरु अत्तालिएको बताउनु भयो । बिपक्षि दलले संयुक्त गठबन्धको जित देखेर अनावश्यक प्रोपोगाण्डामा उत्रिएको उहांले आरोप लगाउनु भयो । मुलुकको बिकास र समृद्धिकालागि पार्टीको नीति अनुसार नै चुनावी एकता भएको बताउँदै नेता खाँणले यो एकताले चुनावको जित सुनिश्चित भएको र तिलोत्तमा नगरपालिकामा समृद्धि र बिकासको यात्रा सुरु भएको बताउनु भयो ।
त्यस्तैगरी कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यबंसीले जनताको मतादेशलाई सदुपयोग गर्नुपर्ने बताउनु भयो । दुई पार्टी बिचको तालमेललाई ईमान्दारिताका साथ पालना गर्दै नेपाली काँग्रेस र जनमुक्ति पार्टीका साझा उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी विजयी वनाउन नगरवासीलाई आग्रह गर्नुभयो । तालमेलले तिलोत्तमालाई नयाँ युगतर्फ प्रवेश गराएको भन्दै उहांले साझा उम्मेदवारको विजय संगै तिलोत्तमामा बिकासको मुल फुट्ने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगर निर्वाचन परिचालन समितिका संयोजक एबम् नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले दुई पार्टी बिचको समिकरण अनुसार नै मतदान गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सांसद उदय शम्सेर राणाले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन, मुलुकको सम्बृद्धि र तिलोत्तमा नगरको समग्र विकासकालागि नगरवासीले संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्ने वताउनु भयो । राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ्ले नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्ति पार्टी बिचको चुनावी एकता र त्यसमा पनि चुनाव चिन्ह एउटै रुख लिएपछि नेकपा एमालेमा ठूलो भूकम्प गएको बताउनु भयो ।
उहाँले आफ्नो हार सुनिश्चित भएपछि एमालेले अनेक प्रोपोगाण्डा गर्दै आफ्ना कार्यकर्तालाई भड्काउने काम गरेको आरोप लगाउँदै स्वच्छ प्रतिस्पर्धा गर्न एमालेलाई सुझाव दिनुभयो । निर्वाचन परिचालन समितिका सहसंयोजक रोमणि पाठकको स्वागत र जनमुक्ति पार्टीका सुन्दर गुरुङ्को संचालनमा भएको सभामा विभिन्न पार्टीका १५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका निर्वाचन परिचालन समितिका सचिव एबम् जिल्ला सदस्य गणेश शर्माले जानकारी दिनुभयो ।
यस्तै देवदहमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी र काँग्रेस विचको सहकार्यले मात्र मुलुकमा विकासको मुल फुट्ने बताउनु भएको छ । देवदहको ढेकावरमा बिहीबार भएको काँग्रेस र माओवादीको संयुक्त सभालाई सम्वोधन गर्दै नेता पौडेलले मुलुकको समृद्धि र विकासका लागि पनि माओवादीसंगको सहकार्य र तालमेल आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको विकासकालागि कृषिमा आश्रित जनतालाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउने काँग्रेससँग खाका रहेको भन्दै कृषिलाई यान्त्रिकिकरण गरेर ब्यवसायिकीकरणतर्फ लैजाने अभियानमा काँग्रेस रहेको बताउनुभयो ।
नेपाली काँगैस वडानम्बर दुईका सभापति दिपक लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महत, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव शर्मा, काँग्रेस रुपन्देहीका सभापति तथा सांसद् अब्दुल रज्जाकलगायतले बोल्दै मुलुकको विकासका लागि एक दलले मात्र केही गर्न नसक्ने भन्दै देवदहमा माओवादी र काँग्रेस विच भएको तालमेलले विकासको मुल फुटाउने बताउनुभयो ।
सो अवसरमा आफ्ना प्रतिवद्धताहरु नागरिकसामु राख्दै मेयरका उम्मेदवार हिराबहादुर खत्रीले देवदहमा रहेको अब्यवस्थित सुकुम्बासि समस्या, खानेपानी तथा सडक लगायत शिक्षा, स्वास्थ्यका समस्याहरु समाधान गर्दै देवदहलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना आफुहरुको रहेको बताउनुभयो । कार्यक्रममा माओवादीबाट उपमेयर बन्नु भएकी टिका गौतमले काँगे्रससँगको तालमेल देवदहको विकासका लागि भएको उल्लेख गर्दै महिला, गरिव, जनजाति तथा पिछडा वर्गको समस्या समाधानका लागि धेरै योजनाहरु आफुसँग रहेको बताउनुभयो ।