बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमालेले मुलुकमा सांप्रदायिकता फैलाउने काम गरेको आरोप लगाउनु भएको छ । पहाडको टुप्पामा बसेर एमाले अध्यक्ष केपी ओलीले सिमा रक्षामा खटिएका नेपाली नागरिकलाई गाली गर्ने अधिकार नभएको प्रष्ट पार्नुभयो ।
एमालेले अंगिकार गरेको मधेशका विरुद्धमा पहाडे राष्ट्रवादले मुलुकमा सांप्रदायिकता निम्त्याएको भन्दै उहाँले एमालेको नेतृत्वमा मुलुकमा बिकास र समृद्धि सम्भव नभएको जिकिर गर्नुभयो । ‘हिमाल, पहाड र तराईलाई राष्ट्रियताको एक सुत्रमा बाँध्नुपर्ने आजको आवश्यकता हो ।’ पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले भन्नुभयो–‘आपसी सद्भाव कायम गराउँदै मुलुकलाई समृद्धि गराउने लक्ष्यमा नेपाली काँग्रेस छ ।’
रुपन्देहीको सियारी गाउँ पालिकामा नेपाली काँग्रेसले गरेको चुनावी सभामा बोल्दै उहाँले नेपाली काँग्रेस राष्ट्रवादी, लोकतान्त्रिक र बिकासवादी शक्ति भएकाले काँग्रेस बलियो भएमात्रै राष्ट्रियता बलियो हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो –‘समृद्ध नेपाल र विकसित नेपाल बनाउने हाम्रो लक्ष्य हो, समृद्ध स्थानीय तह निर्माणकालागि पनि नेपाली काँग्रेसलाई जिताउनुहोस् ।’ उहाँले नेपाली काँग्रेसलाई जिताउन आग्रह गर्दै त्यहाँको बिकासमा आफू सहयोगि भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङ्ले एमालेले नौटंकी राष्ट्रवादको खोक्रो नारा ल्याएको बताउँदै त्यसको भ्रममा नपर्न आग्रह गर्नुभयो । मुलुकमा अहिलेसम्म भएका जतिपनि परिवर्तनहरु छन्, ति परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको बताउँदै काँग्रेसकै नेतृत्वमा बिकास र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । अर्का नेता महेन्द्र यादवले नेपाली काँग्रेले हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रियताको एउटै सुत्रमा बाँध्ने प्रयन्त गरेकाले सबैको साझा पार्टी नेपाली काँग्रेस भएको बताउनु भयो । उहाँले मुलुकको समृद्धि र बिकासकालागि नेपाली काँग्रेसलाई नै जिताउन आह्वान गर्नुभयो ।
कार्यक्रममा सियारी गाउँ पालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखका उम्मेदवार थानेश्वर घिमिरे र उपप्रमुखकी उम्मेदवार रीता चौधरीले सियारीका बिकास र समृद्धिकालागि आफूहरुसंग योजना र ईच्छा शक्ति रहेको बताउँदै आफूहरुले प्रस्तुत गरेका बिकासका योजनालाई सार्थक बनाउन रुख चिन्हमा मतदान गरि सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदारले त्यस क्षेत्रको बिकासमा नेपाली काँग्रेसको उल्लेखनीय भूमिका रहेको बताउँदै बिकासलाई थप उचाईमा पु¥याउनकालागि नेपाली काँग्रेसका उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो ।