बुटवल/ स्थानीय तहको निर्वाचन अन्तरगत दोस्रो चरणमा बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।
निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०.५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।
राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् ।
प्रमुख निर्वाचन आयुक्तले जनादेश अब मतपेटिका संकलित भइसकेको भन्दै मतादेश सम्मान गर्न उम्मेदवारहरुलाई हार्दिक अपील गरेका छन् । उनले भने, ‘उत्तेजनामा नआउने र संयमता अपनाउन अपील निर्वाचन आयोग आग्रह गर्दछ ।’निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । प्रमुख आयुक्त यादवले भने, ‘उच्च सर्तकता अपनाएर मत गणना सुरु गर्नुपर्छ । प्रतिनिधिलाई कति दुरीमा राख्ने तय गर्न भनेका छौं ।’
सफल र सबैलाई स्वीकार्य हुने मत गणना हुने विश्वास आयोगले लिएको उनले बताएका छन् ।त्यसैगरी रुपन्देहीमा पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । बिहान सातबजेदेखि सुरु भएको निर्वाचनमा करिव ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिनुभयो ।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १०वटा गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रुपन्देही जिल्लामा ४ लाख ६२ हजार ५ सय ८६ मतदाता छन् । वर्षातका कारण केही स्थानमा केही समय ढिलोगरी मतदान प्रारम्भ गरिएको थियो । यद्यपी मतदानका लागि मतदाता भने उत्साहका साथ सहभागि भएका थिए ।
१६ वटा स्थानीय तहमा १५५ वटा वडामा ५४३ मतदान केन्द्र निर्धारण गरी मतदानको तयारी गरिएको थियो । त्यसमध्ये कोटहीमाईको वडा नं. १ मा माओवादी केन्द्रबाट खुल्ला सदस्यका उम्मदेवारमुराली मल्लाहको आईतबार राती निधन भएपछि दुई दिन पछि सारिएको छ ।
रुपन्देहीमा भएको निर्वाचन शान्तिपूण रुपमा उत्साहका साथ सम्पन्न भएको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मधुप्रसाद पुडासैनीले जानकारी गराउनु भयो ।
बिहान सातबजेदेखि मतदान सुरु हुने भएपनि दिउँसोको गर्मी छल्नकालागि मतदाता भने सबेरैदेखि मतदान केन्द्रमा आएर लामवद्ध भएर बसेका थिए । मतदानकालागि बृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै व्यबस्था भएपनि मतदान केन्द्रसम्म जान आउन उनीहरुलाई समस्या भएको थियो । यद्यपी उनीहरु समेत मतदानमा उत्साहकासाथ सहभागि भएका थिए ।
सम्पन्न मतदानबाट रुपन्देही जिल्लामा ८ सय ७ जना जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ४ हजार ५ सय ६२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन सम्पन्न भएपछि मतपेटिकालाई सिल गरी स्थानीय तहको केन्द्रसम्म राती नै पु¥याईसकिएको छ । सम्बन्धित स्थानीय तहमा अधिकार प्राप्त निर्वाचन अधिकृतले समन्वय गरी अनुकुल समय मिलाएर जतिसक्दो चाँडो मतगणना सुरु गर्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख गौतमले बताउनु भयो ।
दुई नगरपालिका र ८ वटा गाउँपालिका गरी १० स्थानीय तह रहेको पाल्पा जिल्लामा पनि करिव ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । पाल्पामा बिहानैदेखि मतदाता उत्साहका साथ मतदान स्थलमा आई मतदान गरेका थिए । साँझ मतदान सकिएलगत्तै मतपेटीकालाई शिल गरि स्थानीय तहको केन्द्रमा ल्याईएको छ ।
त्यस्तैगरी तीन नगरपालिका सहित ६ स्थानीय तह रहेको अर्घाखाँची जिल्लामा ७२ प्रतिशत मत खसेको छ । जिल्लामा एक लाख २६ हजार ६ सय ९९ मतदाता रहेकोमा जिल्लाभर ७२ प्रतिशत मत खसेको जिल्ला निर्बाचन कार्यलयका मुख्य निर्बाचन अधिकृत केशवप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
त्यस्तैगरी गुल्मीमा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । प्रदेश नम्बर पाँच अन्र्तगत बुधवार सम्पन्न स्थानीय तहको चुनावमा गुल्मी जिल्लामा ७० प्रतिशत भन्दा बढी मत खसेको त्यहाबाट हाम्रा समाचारदाता जनार्दन घिमिरेले जानकारी गराउनु भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख गणेशबहादुर खत्रीका अनुसार जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा बुधवार सम्पन्न स्थानीय तहको चुनावमा मतदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 
जिल्लामा चुनाव शुरु भएदेखि अन्तिमसम्म कुनै अप्रिय घटना भएनन् । बुधवार विहानैदेखि अपरान्हसम्ममा प्रत्येक मतदान केन्द्रहरुमा मतदाताहरुको उल्लेखनीय रुपमा सहभागिता भएपनि अपरान्हपछि मतदान केन्द्रहरु सुनसान भएका छन् ।
वीसवर्षपछि स्थानीय तहमा आफ्ना जनप्रतिनिधिहरु छान्न पाउँदा मतदाता उत्साहित भएका थिए । मतदानमा किरिया पुत्रीदेखि ९८ वर्षसम्मका वुद्धवृद्धाको समेत उपस्थीति रहेको थियो । जिल्लामा मतदान सम्पन्न भएपछि बुधवार राति नै सवै मतदान स्थलका मत पेटिका नगरपालिका तथा गाउँपालिका केन्द्रमा ल्याईएको छ ।
क्रियापुत्रीद्वारा मतदान
रुपन्देहीको सैनामैना नगरपालिकामा ८ जना क्रियापुत्रीले मतदान गरेका छन् । सैनामैना नगरपालिकाको वडा नं. ५ को पश्चिम पर्रोहा मतदान केन्द्रबाट सोही वडा स्थित बक्सड डाडाँका ८ जना क्रियापुत्रीले मतदान गरेका हुन् । आमाको निधनमा क्रिया बसेका छोराहरु अशोक बिक र सन्तोष बिक सहित बुहारीहरु तथा छोरीहरु समेत गरी ८ क्रियापुत्रीले जनाले मतदान गरेको बताईएको छ ।
मतदान गर्न आएका दुई जनाको मुत्यु
पाल्पा, १४ असार ।मतदान गर्न लाइनमा पुग्नै लाग्दा पाल्पामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बगनाशकाली गाउँपालिका वडा नं. १ मा एक महिला र सोही गाउँपालिका वडा नं. ६ मा एक वृद्ध पुरुषको मृत्यु भएको हो।
बगनाशकाली–१, घोरबन्दामा ६२ वर्षीय कृष्णाकुमारी कुमाल र बगनाशकाली–६, यम्घाका ८४ वर्षीय पूर्णचन्द भट्टराईको मृत्यु भएको हो। कृष्णाकुमारी कुमालको श्रीराम प्राथमिक विद्यालयको मतदान केन्द्रदेखी एक सय मिटर नजिक लाईनमा बस्न जाँदै गर्दा बिहान मृत्यु भएको हो।
८४ वर्षीय भट्टराईको अरनिको आधारभूत विद्यालयमा मतदान गर्न लाइनमा बस्नासाथ हृदयघात भई मृत्यु भएको वगनाशकाली गाउँपालिकाका निर्वाचन अधिकृत तिलक पौडेलले बताउनु भयो । उनीहरु दुवैको बिहान ८ बजेको समयमा निधन भएको हो।
कुमाल मतदानको प्रक्रियाका समयमा अचानक बेहोस भएर लडेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। भट्टराईको शव मतदान स्थल नजिकै राखिएको छ। उनका छोरा छैनन्। बिहान केही समय मतदान प्रक्रिया प्रभावित भएता पनि केही समय पछि मतदान सुचारु भएको थियो ।