बेलहिया नाकाबाट इन्धनका गाडी आउन थाले

952

बेलहिया नाकाबाट इन्धनका गाडी आउन थाले

06102015103648oil-1000x0लुम्बिनी (रुपन्देही), १४ कात्तिक । देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।

मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् ।

रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।

उहाँका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।

भारतीय नाका सुनौली हँुदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।

सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस