बुटवल, असार । बुटवल उपमहानगरपालिकाको मेयर पदमा उपविजेता बन्नुभएका नेपाली काँग्रेसका खेलराज पाण्डेले पाँच वर्षसम्म छायाँ जनप्रतिनीधिका रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचनको परिणाम आएपछि बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी चुनावी दौरानमा आफूले उठान गरेका एजेण्डामा अहिले पनि प्रतिवद्ध रहेको बताउँदै छायाँ जनप्रतिनीधिका रुपमा काम गर्ने र बुटवललाई सवल आर्थिक केन्द्रको रुपमा बिकास गर्न आफ्नो प्रयत्न कायमै रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
नेपाली काँग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्नुभएका पार्टीको नगर सभापति समेत रहनुभएका पाण्डेले मेयरको कुर्चीमा बसेर काम गर्न नपाएपनि बुटवल बासीको मनमा बसेको बताउँदै यहाँको बिकास निर्माण र जनताको सुख दुःखमा संगै रहने बताउनु भयो ।
‘मैले चुनावी दौरानमा बुटवललाई समृद्ध नगर बनाउने योजना सहित थुप्रै एजेण्डाहरु अंगाडी सारेको थिएँ ।’ पत्रकार सम्मेलनमा पाण्डेले भन्नुभयो–‘चुनावमा अंगाडी सारेका एजेण्डामा हामी अहिले पनि प्रतिवद्ध छौं, पाँच वर्षसम्म छायाँ जनप्रतिनीधिका रुपमा काम गर्नेछौं ।’ उहाँले बुटवलको बिकासमा निर्वचित जनप्रतिनीधिले भन्दा बढी योजना र कार्यक्रम ल्याउने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘बुटवलको विकासका लागि सधैभरि खटिरहनेछु र बुटवलबासीलाई हामीले जिताउनुपर्ने व्यक्ति त छुटाएछौं भन्ने अनुभूति गराउनेछु ।’
‘नगरपालिकालाई सबैको साझा कार्यालय बनाउनु पर्छ, कुनै पनि पार्टीको छायाँ कार्यालय बनाउनु हुँदैन, चुनावका वेला हामीले यो सहित धेरै मुद्धा उठाएका थियौं ।’ उहाँले भन्नुभयो–‘म सहित वडासम्मका चुनावमा प्रतिस्पर्धा गरेका पार्टीका साथिहरु जितेका साथीहरुभन्दा बढी खटिने छौं ।’
चुनावका वेला उम्मेदवार बन्नुभएका पाण्डेले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने, नयाँ र व्यबस्थित बसपार्क, अन्तर्राष्ट्रिय सभाहल, बुटवल मण्डपमा स्थायी प्रदर्शनी स्थल, लुम्बिनी अञ्चल अस्पताल मातहत बुटवल भित्रै मेडिकल कलेज, बुटवललाई मुलुककै सवल आर्थिक केन्द्र बनाउने, सुविधा सम्पन्न रंगशाला निर्माण लगायतका एजेण्डा अंगाडी सार्नुभएको थियो ।
उहाँले आफूले आशा गरेभन्दा पनि फरक ढंगबाट चुनावमा सहयोग प्राप्त भएको बताउँदै आफूलाई विश्वास गरेर मतदान गरेका मतदाता, पार्टी पंक्तिका पदाधिकारी सबै क्षेत्र र वर्गबाट उत्तिकै मायाँ र स्नेह प्राप्त गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।