शिवपुराण सहितको श्रावणी मेलामा भक्तजनको घुईँचो

1.3K

शिवपुराण सहितको श्रावणी मेलामा भक्तजनको घुईँचो

बुटवल, २ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा सञ्चालन भएको शिवपुराण सहितका श्रावणी मेलामा दर्शनार्थीको घुईँचो लागेको छ ।
साउन महिनाको पहिलो सोमबार पनि भएको र मोक्षधाममा स्थापना गरिएको द्वादश ज्योतिलिंग सहित १ हजार १ सय ८ शिवलिंगमा जलार्पण गर्न पाईने भएकाले पनि दर्शनार्थीको घुईँचो बढेको हो ।
साउन महिना शिव महिना पनि भएको र शिव महिमा सहित धाममा शिवपुराण महायज्ञ तथा १ हजार एक सय ८ शिवलिंगमा जलार्पण गर्न पाईने भएकाले, विशेषत शिवलिंगमा जलार्पणका लागि श्रद्धालु भक्तजनहरु उल्लेख्य रुपमा आएको धामका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो ।
आशुतोष भगवान शिवजीको प्रिय महिना साउनभरी शिव महिमा सम्बन्धि सांगितिक आध्यात्मिक प्रवचन, श्रावणी मेला, अखण्ड जलधारा, रुद्राभिषेक एवं शिव भजनकृतन सञ्चालन गरिएको छ ।
२०६८ सालमा स्थापना गरिएको मोक्षधाममा हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, कुरुकुल आश्रम, १०८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर निर्माण, अमृत कुण्ड, १००८ शिवलिंग सहितको द्वादश ज्योतिर्लिंग निर्माण सम्पन्न भईसकेको छ । त्यसबाहेक मोक्षधाम निर्माणमा सहभागि हुनकालागि धामले एघार मुठि माटो सहित ११ सय बत्ति र एक हजार एक सय सिक्का दान गर्न आह्वान गरेको छ । त्यस कार्यमा पनि उल्लेखनीय सहभागिता रहेको र सोमबार मात्रै करिव १० हजार भक्तजन धाममा आएर जलार्पण गरेको धामका कोषाध्यक्ष नारायण वञ्जाडेले जानकारी गराउनु भयो ।


भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको थियो । गत असार २६ गते श्रावण प्रतिपदादेखि साउन २३ गते श्रावण शुक्ल पूर्णिमासम्म एक महिना शिवपुराण ज्ञान महायज्ञ तथा श्रावणी मेला सञ्चालन गरिएको हो ।