भलवारी, ५ साउन । रूपन्देहीको तिलोत्तमा नगरमा क्रियाशील भलवारी जेसीजले ‘स्थानीय तहमा निर्वाचित आफ्नो संस्थामा सम्बद्ध व्यक्तिहरूको सम्मान’ र ‘नेपाल आइडलमा सुजाता पाण्डेलाई जिताऔं’ अभियानको एक कार्यक्रमबीच आरम्भ गरेको छ ।
तिलोत्तमाका नगर–प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनप्रतिनिधि निर्वाचित जेसीजसम्बद्ध व्यक्तिहरूको सम्मान र सुजातालाई आइडल बनाऔं अभियानको उद्घाटन गरिएको भलवारी जेसीजका पूर्व अध्यक्ष रमेशकुमार पराजुलीले जानकारी दिनुभयो ।
भलवारी जेसीजका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख घिमिरेले जेसीज गतिविधिको प्रशंसा गर्दै नगरपालिकाका नौला एवम् विकासे कार्यक्रममा सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।
गत असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भलवारी जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष हरिप्रसाद पौड्याल तिलोत्तमा–५ को वडा सदस्यमा र अर्का सदस्य नारायण न्यौपाने तिलोत्तमा –९ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँहरूलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै, तिलोत्तमा–८, चारनम्बर निवासी सुजाता पाण्डे समग्र लुम्बिनी अञ्चलकै एकमात्र प्रतिनिधिका रूपमा नेपाल आइडलका लागि उत्कृष्ट १० जना भित्र प्रतिस्पर्धारत हुनुहुन्छ । उहाँको विजयका लागि जेसीआई भलवारीले प्रकाशन गरेको अनुरोधात्मक पम्प्पलेटको नगरप्रमुख घिमिरेले लोकार्पण गर्नुभएको थियो ।
सो अवसरमा, भलवारी जेसीज सम्बद्ध सबैले विहीबार राती ९ बजेदेखि शुक्रबार दिनको १२ बजेसम्म धेरैभन्दा धेरै एस. एम. एस. भोटिङ् गर्ने र सुजाताको विजयका लागि अभियान सञ्चालन गर्ने घोषणा गरिएको थियो ।
जेसीआई भलवारीका उपाध्यक्ष गोपाल भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सुजाता पाण्डेका ठूलाबुबा एवम् गीतकार तेजप्रसाद पाण्डेले अधिक संख्यामा एस.एम.एस. गर्नुपर्दा आर्थिक भार बढेको उल्लेख गर्दै संघसंस्थाको स्वतस्फूर्त भूमिकाले यसमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय पौड्याल र न्यौपानेले आफूहरूमा थप उत्साह जागेको बताउनु भएको थियो । जेसीआई भलवारीका कोषाध्यक्ष प्रकाश गैरेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सुरज पङ्गेनी, भलवारी जेसीजका पूर्व अध्यक्ष शिवप्रसाद गैरे लगायतले बोल्नुभएको थियो ।