झण्डै दुई करोड लगानीमा चिया उद्योग

1.3K

झण्डै दुई करोड लगानीमा चिया उद्योग

बुटवल, ५ साउन । झण्डै दुई करोड लगानीमा बुटवलमा चिया उद्योग सञ्चालनमा आएको छ । बुटवलका युवा उद्यमी टंकप्रसाद गैरेको एकल लगानीमा गैरे फूड प्रोडक्टले मसला युक्त टेवा चिया बजारमा ल्याएको हो ।

उक्त उत्पादनको बिहिबार एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।

गैरे फूड प्रोडक्सद्वारा उत्पादित चियाको शुभारम्भ गर्दै श्रेष्ठले बुटवल औद्योगिक सम्भावनाको शहर भएकाले उद्योगमा गरिएको लगानीले औद्योगिक बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तर उद्योग सञ्चालनकालागि सरकारले उद्योगमैत्री वातावरण बनाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा उद्योग स्थापना गरि उत्पादन सुरु गरिएको उक्त उद्योगमा हाल १५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । उद्योग सञ्चालन गर्नकालागि झण्डै दुई करोड लगानी भएको उद्योग सञ्चालक टंकप्रसाद गैरेले बताउनु भयो । उक्त चियामा ल्वाङ्, सुकमेल, दालचिनी लगायतका जडिबुटि मिश्रण गरिएको र फरक स्वादमा गुणस्तर युक्त चिया ल्याईएको उहाँको दावी छ ।

लामो समयदेखि गैरे परिवार व्यापारिक पृष्ठभूमिमा रहेको र अहिले आफूले त्यसलाई निरन्तरता दिँदै उद्योगमा लगानी गरेको उहाँले बताउनु भयो । उहाँले रुपन्देही औद्योगिक बिकासको सम्भावना बोकेको क्षेत्र पनि भएकाले गुणस्तरीय चिया उत्पादन गर्नेगरी चिया उद्योगमा लगानी गरिएको बताउनु भयो ।

शुभारम्भ कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, नेपाल उद्योग बाणिज्य संघका पूर्व सदस्य शंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जि सी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।