खिमानन्द भट्टराई / देवदह, ७ साउन । रुपन्देहीका शँकरनगर सामुदायिक वन, रामनगर सामुदायिक वन बुटवल, करहिया सामुदायिक वन लगायतका वन क्षेत्रमा बाघको अनुगमन अनुसन्धान सुरु गरिएको छ ।
गएको जेठ देखि यता शँकरनगर सामुदायिक वन वरिपरीको क्षेत्रमा वन हेरालु र विभिन्न ब्यक्तिहरुले पाटे वाघ विचरण गरेको देखेपछि जंगलमा बाघ भए नभएको पुष्टि गर्नका लागि शनिवार देखि स्थलगत अनुगमन सुरु गरिएको हो ।
शँकरनगर सामुदायिक वनका पदाधिकारी, वन प्राविधिक, वन हेरालुहरुले वन क्षेत्रमा गरेको अनुगमनका क्रममा बाघले आक्रमण गरेर मारेका वाच्छा वाच्छी फेला परेको, घाईते अवस्थाका गाई गोरु देखा परेको, वाघ र बाँदरको झडप भएको तथा विभिन्न ठाउंमा वाघका खुट्टाका छाप देखा परेपछि जँगलमा बाघ छ छैन भनेर वन्य जन्तु अनुगमन अनुसन्धान अधिकृत सहितको प्राविधिक टोलीले यो काम सुरु गरेको छ ।
जिल्ला वन कार्यालय रुपन्देहीको नेतृत्व, शँकरनगर, रामनगर र करहिया सामुदायिक वनको सहयोगमा वन्यजन्तु अनुगमन अनुसन्धान टोलीले वाघ विचरण गर्ने क्षेत्र, वाघलाई चाहिने आवश्यक आहार लगायतका विषयमा अनुसन्धान सुरु गरेको रुपन्देहीका सहायक वन अधिकृत गिरिप्रसाद गैरेले वताउनु भयो ।
शनिवार वाघ वस्न सक्ने सम्भावित क्षेत्र, हिडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्र लगायतका स्थानको अनुसन्धान गरेको टोलीले आईतवार देखि सम्भावित ठाउंमा विशेष खालको क्यामेरा जडान गरी बाघको अनुगमन गर्ने शँकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरीले वताउनु भयो ।
जँगलमा बाघ भए नभएको पुष्टि र अनुगमन गर्न आउनु भएका तराई भू परिधी कार्यक्रमका आयोजना सह प्रवन्धक गौतम पौडेलले जनताले संरक्षण गरेको शँकरनगर सामुदायिक वनमा प्रकृतिको गहनाको रुपमा रहेको बाघ भेटिनु ठूलो अवसर र उपलब्धी भएको बताउनु भयो । पहिला बाघ छ छैन र हो होईन भन्ने पुष्टि गर्नु प¥यो भन्दै पौडेलले पुष्टि भयो भने वाघलाई समस्याको रुपमा नभै अवसर र उपलब्धीको रुपमा लिनुपर्ने वताउनु भयो ।
सामुदायिक वनमा बाघ भए नभएको अनुगमन अनुसन्धान गर्न डब्लु डब्लु एफका वन्यजन्तु अनुसन्धान अधिकृत सविता मल्ल, समुन्द्र सुब्बा सहित चार जना नागरिक बैज्ञानिकहरुको टोली खटिएको शँकरनगर सामुदायिक वनका उपाध्यक्ष रविन्द्र वस्नेतले वताउनु भयो । यो टोली वाघ भए नभएको पुष्टि नभएसम्म वन क्षेत्रमै रहेर काम गर्ने छ ।
सामुदायि वनमा बाघको लागि प्रशस्त आहारा, लुक्ने, वस्ने र विचरण गर्ने प्रशस्त ठाउं रहेकाले पनि यो वनमा वाघ भएको पुष्टि भएमा सामुदायिक ब्यवस्थापनका हिसावले पनि उत्कृष्ट र अब्बल मानिने छ ।