स्मार्ट लाइसेन्सले सेवाग्राहीलाई सास्ती

430

स्मार्ट लाइसेन्सले सेवाग्राहीलाई सास्ती

बुटवल, ११ साउन । स्मार्ट लाइसेन्सको प्रकृया शुरु गरेको बुटवलस्थित सवारी चालक अनुमति पत्र (लाईसेन्स) कार्यालय लुम्बिनीले सेवाग्राहीलाई सेवा दिन सकेको छैन ।

सवारी चालक अनुमति पत्र नविकरणका लागि आएका सेवाग्राहीलाई कार्यालयले विना जानकारी स्मार्ट लाईसेन्सको रसिद काट्ने र फोटो खिच्ने काम गर्न थालेपछि सेवाग्राहीले राम्रो सेवा पाउन सकिरहेका छैनन् ।

नविकरणका लागि विभिन्न जिल्लावाट आएका सेवाग्राहीले तीनदिन यातादेखि प्रत्येक दिन लाईनमा बसेपनि कार्यालयले कामको राम्रो ब्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले सेवा लिन सकेका छैनन् । विना सूचना र विना जानकारी गएको बिहीबारदेखि स्मार्ट लाइसेन्सको प्रकृया शुरु गरेको कार्यालयले कार्यालयमा यस सम्बन्धी उचित व्यवस्थापन नगरेका कारण सेवाग्राहीले सेवाका नाममा सास्ती खेपिरहेका छन् ।

आवश्यक पूर्वाधार तयार नगरी कार्यालयले स्मार्ट लाइसेन्सको लागि सेवाग्राहीबाट राजश्व संकलन गर्न थालेपछि नवीकरणका लागि आएका सेवाग्राहीहरु अन्योल र समस्यामा परेका हुन् । यसअघि दैनिक ३ सय देखि करिब ४ सयसम्म लाइसेन्स नविकरण गर्दै आएको कार्यालयले स्मार्ट लाइसेन्सको प्रकृया शुरु गरेदेखि दैनिक मुस्किलले ४० देखि ५० जनाबाट नवीकरण वापतको राजश्व उठाउने गरेको छ ।

कार्यालयले छिटो छरितो सेवा दिन नसकेपछि गुल्मी, अर्घाखांची, प्यूठान, पाल्पा, कपिलवस्त्ु, नवलपरासी लगायतका जिल्लाबाट नवीकरणका लागि आएका सेवाग्राहीले सास्ती भोग्नु परेको छ । सामान्य कामका लागि टाढा–टाढाबाट आएका सेवाग्राहीले तीन दिनदेखि घण्टौं लाइनमा बस्दा समेत सेवा लिन नपाएपछि बुधबार दिउंसो सेवाग्राहीहरुले कार्यालयको कामप्रति असन्तुष्टी जनाउंदै होहल्ला गरेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

कार्यालयबाट छिटो छरितो सेवा नपाइएको, कार्यालयका कर्मचारी र अधिकारीहरुबाट आधिकारिक सूचना उपलब्ध नगराइएको र लाइन व्यवस्थापनमा ध्यान नदिइएको भन्दै सेवाग्राहीहरु आक्रोशित भएपछि कार्यालय परिसरमा तनाव उत्पन्न भएको हो । सेवाग्राहीहरु आक्रोशित भएर होहल्ला गरेपछि विवाद बढ्ने देखेर कार्यालयले प्रहरी प्रशासनको गुहार मागेको थियो । कार्यालयको आग्रहमा प्रहरी आएपछि तनाव साम्य भएपनि लाइन र कार्यालयबाट हुने कामको गतिमा भने कुनै सुधार नआएको सेवाग्राहीहरुको गुनासो छ ।

सवारी चालक अनुमति पत्र लाइसेन्स कार्यालय लुम्बिनीका निमित्त कार्यालय प्रमुख उर्मिला गुभाजुले कम्प्युटर प्रणालीमा आएको प्राविधिक कठिनाई (सर्भर) का कारण सेवाग्राहीलाई विगतमा जस्तो सेवा उपलब्ध गराउन नसकिएको बताउनुभयो । सेवाग्राहीको चाप अनुसार आवश्यक कर्मचारी र कम्प्युटरको अभाव तथा पुरानो प्रकृयाबाट नयां प्रकृयामा जानुपर्दा काममा केही ढिलाई भएको बताउंदै छिट्टै यसलाई व्यवस्थापन गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिइने गुभाजूले बताउनुभयो ।

स्मार्ट लाइसेन्सको लागि राजश्व संकलन गरेका सेवाग्राहीलाई भने तीन महिनापछि कार्यालयमा सम्पर्क राख्न भनिएको नवीकरणका लागि कार्यालयमा आएका सेवाग्राही गुरुप्रसाद भट्टराईले जानकारी गराउनुभयो । कार्यालयले बिहीबारदेखि स्मार्ट लाइसेन्सको लागि राजश्व संकलन गर्न शुरु गरेको छ ।