चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।
माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।मेयरमा बिजयी रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
चुनाव भएको झण्डै तीन महिनापछि रिजल्ट
मतदान गरेको झण्डै ३ महिनापछि भरतपुर महानगरले नयाँ मेयर र उपमेयर पाएको छ ।भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए । वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।
कुन दलले कति वडा जिते ?
भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । एमाले बहुमत वडा जित्नबाट चुकेको छ । यस्तै, १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ ।महानगरको वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ ।
विजयी भएपछि रेणु दाहालले भनिन्- जिम्मेवारबोध भएको छ
नवनिर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको प्रतिक्रिया दिएकी छन्।
शनिबार राति मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनिन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ र जिम्मेवारीबोध भएको महसुस भइरहेको छ।’
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’
मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी छिन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’
केहीबेर अघि माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ मतले हराउँदै महानगरको बागडोल सम्हाल्न लागेकी हुन्।