बुटवल, २४ साउन । आफूहरुले उठान गरेका माग सम्बोधन नभएको भन्दै पेट्रोलियम व्यबसायीले पेट्रोल तथा डिजल खरिद नगर्ने निर्णय सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
व्यबसायीका समस्यालाई लिएर पटक पटक समाधान गरिदिन अनुरोध गरेपनि पछिल्लो समयमा १५ दिनको समय सिमामा यहि साउनको १८ गतेभित्र समस्या समाधान गरिदिने आयल निगम संग सहमति भएको थियो ।
सो सहमति अनुसार आफूहरुका माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी यहि साउनको २० गतेदेखि दवावका लागि पम्पमा कालो झण्डा गाडिएको जानकारी गराएको हो ।
त्यस्तै माग सुनुवाई नभए बिहिबार देखि पेट्रोल खरिद नगर्ने र आगामी यहि २९ गतेदेखि समस्या समाधान नहुँदा सम्म डिजल तथा पेट्रोल गरिद नगर्ने निर्णय गरिएको एशोसिएसनका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । व्यबसायीले विक्रेताको विक्रि स्थलमा डिस्पेनसरी पम्पबाट पेट्रोलियम पदार्थ विक्रि गर्दा नेपाल आयल निगमले जारी गरेको विजकमा उल्लेख गरिएको परिणाम अनुसारकै परिणाम प्राप्त हुनुपर्ने अन्यथा परिणाम कम भएमा आयल निगमले मुल्य समायोजन गरिदिनुपर्ने माग गरेका छन् ।
त्यस्तै नेपाल आयल निगमले विक्रेतालाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिणाम गुणस्तर तथा नापतौल कार्यालयले समेत प्रमाणित गर्नुपर्ने, पेट्रोलियम पदार्थ ढुवानी गर्ने निगमको करारमा रहेका टैंकिलरीहरुमा लकिङ् सिस्टम जडान गर्नुपर्ने र जडान गरिएका लकिङ् सिस्टमलाई अविलम्ब सञ्चालनमा ल्याउनु पर्ने व्यबसायीको माग छ ।
आधिकारिक निकायबाट हुने अनुगमनका क्रममा डिस्पोन्सिङ् पम्पमा लगाईएको शिल दुरुस्त हुँदा हुँदै प्राबिधिक कारणले परिणाम घटबढ भएमा पम्लाई कारवाही नगरी पुन क्यालिब्रेसन गर्नुपर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पेट्रोलियम पदार्थ तापक्रमका कारण घटबढ हुने भन्दै एशोसिएसनका अध्यक्ष न्यौपानेले ४ हजार लिटर डिजल तथा पेट्रोलमा ६० देखि ८० लिटरसम्म कम हुने बताउनु भयो ।
त्यस्तै नेपाल आयल निगमको हाता भित्र रहेका क्यालिब्रेशन टावरलाई चुस्त दुरुस्त राख्नुपर्ने, विक्रेताको माग अनुसार निगमका डिपोबाट लोड गरेर मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने, नेपाल आयल निगमले विक्रेताबाट लिएको धरौटी रकममा ‘क’ वर्गका बैंकहरुले मुद्दती खातामा दिने सरहको व्याज उपलब्ध गराउनु पर्ने, त्यस्तै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले गत जेठमा नेपाल आयल निगम समक्ष पेश गरेका सम्पूर्ण मागहरु अविलम्ब गर्नुपर्ने व्यबसायीको माग छ