नाकाबन्दी मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण -भट्टराई

1.3K

नाकाबन्दी मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण -भट्टराई

baburamकाठमाडौँ, १५ कात्तिक । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तराई–मधेस आन्दोलनले पैदा गरेको अवरोधका कारण भारतले गरेको अघोषित नाकाबन्दी मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण भएको बताउनुभएको छ ।

यहाँ आज आयोजित बुद्विजीवीसँगको ‘समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतीहरु’ विषयक अन्तरक्रियामा उहाँले उक्त नाकाले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने अकुण्ठित पारवहन अधिकार र द्विपक्षीय सम्झौताको उल्लङ्घन भएको बताउँदै राष्ट्रिय हितको विषयमा राजनीतिक दल र नागरिकको साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो ।

तराई–मधेसमा देखिएका समस्या चाँडो समाधान गर्नुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो–“खस आर्य, आदिवासी, जनजाति र मधेसी थारूको सामूहिक पहिचान नै नेपाल हो । उनीहरुबीचको समावेशी, समानुपातिक र सहभागितामूलक सम्बन्धमा नै नेपाली राष्ट्रिय एकता र दिगो शान्ति सुनिश्चित छ ।”

उहाँले नयाँ संविधानको घोषणासँगै देशमा तीव्र आर्थिक विकास र समृद्धिको मुद्दाले प्राथमिकता पाउनुपर्ने बताउँदै मुलुकलाई उपयुक्त आर्थिक नीति, लगानीको वातावरणको आवश्यकता रहेको औँल्याउनुभयो ।

उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने बुद्विजीवीले डा भट्टराईलाई देश विकासका लागि विभिन्न किसिमको सुझाव दिनुभयो ।