बुटवल, भदौ । बुटवल उद्योग वाणिज्य संघको २३ औ अधिबेशन तथा ६४ औ बार्षिक साधारण सभा आगामी असोजमा हुने भएको छ ।
संघको मंगलबार सम्पन्न कार्यसमितिको बैठकले आगामी असोज २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । बैठकले २५ गते साधारण सभा, अधिबेशनको उद्घाटन तथा बन्द सत्रको कार्यक्रम र त्यसपछी निर्वाचनको कार्यक्रम गर्ने निणर्य गरेको संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिनुभयो ।
संघका अध्यक्ष सिंहको सभापतित्वमा संघ सचिवालयमा बसेको बैठकले सभा तथा अधिबेशन तयारी र व्यवस्थापनका लागि बिभिन्न उपसमिति गठन गरेको छ ।
महासचिव हरी अर्यालको संयोजकत्वमा स्मारिका प्रकाशन, कार्यसमिति सदस्य नरीश्वर पौडेलको संयोजकत्वमा खाना तथा जलपान, मनोज ध्वजुको संयोजकत्वमा स्टेज तथा मञ्च व्यबस्थापन, अनुपमान सैजूको संयोजकत्वमा प्रस्ताव लेखन, सुनिलकृष्ण कसजुको संयोजकत्वमा मत सर्बेक्षण र नबिन श्रेष्ठको संयोजकत्वमा किट ब्याग व्यवस्थापन उपसमिति गठन गरेको हो ।
त्यस्तै संघका सल्लाहकार तथा पुर्व अध्यक्ष अर्जुनमान सैजूको संयोजकत्वमा आर्थिक पत्रकारिता पुरस्कार छनौट र सल्लाहकार तथा पुर्वअध्यक्ष निर्मलप्रसाद लाकौलको संयोजकत्वमा उद्योगी तथा व्यवसायी सम्मान छनौट समिति गठन गरिएको छ । बैठकले अधिबेशन सम्पन्न गर्न संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।