बुटवलमा मात्रै दैनिक ५ सय खसीबोका खपत हुने

396

बुटवलमा मात्रै दैनिक ५ सय खसीबोका खपत हुने

बुटवलको हाट बजारमा बुधबार बिक्रिकालागि राखिएका खसीबोका । दशैं नजिकिँदै जाँदा खसीबोकाको व्यापार बढेको छ । व्यापारीहरुले जिउँदो खसीबोका सरदर ४ सय रुपैंया प्रति किलोमा कारोवार गरेका छन् । दशैको मुखमा पहाडी जिल्ला तथा भारतबाट समेत बिक्रिकोलागि खसीबोका ल्याईएको छ । तस्वीर : कबिन्द्र नेपाल

बुटवल, ५ असोज । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गर्दा रुपन्देहीमा खसीबोकाको कारोवार बढेको छ । अन्य समयमा समेत खसीबोकामा आत्म निर्भर हुन नसकेको रुपन्देहीमा दशैंकालागि पहाडी जिल्ला तथा भारतबाट समेत खसीबोका आयात गरिएको छ । दशैंको समयमा अधिकांसले खसीबोकाको मासु खाने भएकाले खसीबोकाको आयात बढी भएको हो ।

अहिले खसीबोकाको मासु प्रतिकिलो ७६० रुपैंया छ । दशैंको मुखमा जिउँदो खसी बोका प्रतिकिलो सरदर ४ सय रुपैंयामा कारोवार भईरहेको व्यापारीहरु बताउँछन् । दशैंलाई लक्षित गरेर पहाडी जिल्लाबाट र भारतबाट समेत खसीबोका आयात भएको छ भने हिमाली जिल्लाबाट च्याङ्ग्रा समेत आयात हुने जिल्ला मासु व्यबसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुटवलमा मात्रै दशैंको फूलपातीदेखि नवमीसम्म दैनिक ५ सय खसीबोका तथा दैनिक ३ सय च्याङ्ग्रा खपत हुन्छ । च्याङ्ग्राको मासु प्रतिकिलो १ हजार ५ सय भन्दा बढी पर्ने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तैगरी माछाको पनि उत्तिकै खपत हुने व्यबसायीहरु बताउँछन् । तर दशैंको समयमा कुखुरा तथा पाडा राँगाको मासु न्यून मात्रामा खपत हुने व्यबसायीको भनाई छ ।

संघका अध्यक्ष पौडेलका अनुसार दुई वर्ष अंगाडी सम्म जिल्लामा दैनिक सरदर ४ हजार केजी खसीको मासु, ५ हजार ५ सय केजी कुखुरा तथा २ हजार केजी राँगा पाडाको मासु खपत हुन्थ्यो । यो पनि अहिले बढेको छ तर संघसंग त्यस्तो तथ्याङ्क नभएको उहाँले जानकारी दिनुभयो ।