बुटवल, ७ असोज । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका दोभान स्थित हेड बक्स भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा कार र ट्रक पुरिँदा तीन जनाको ज्यान गएको छ ।
राती खसेको पहिरोबाट अवरुद्ध भएको सडक सुचारु भएको केही बेरमै माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा कार चालक गुल्मी टक्सारका २४ वर्षीय यमबहादुर ज्ञवाली, रुरु गाउँपालिका वडा नं. ५ का ५१ वर्षीय तिलकराम भण्डारी र ट्रक चालक तिनाउ गाउँपालिकाका २८ वर्षीय माधव रानाको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
गुल्मीबाट बुटवल तर्फ आउँदै गरेको लु १ च ७९९४ नम्बरको कार र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ना ३ ख ६१९१ नम्बरको ट्रक उक्त ढुङ्गे पहिरोमा परेका थिए । जसका कारण ट्रक र कार थिचिएर काम नलाग्ने गरी क्षती भएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते तिलकराम भण्डारीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो भने सोही कारमा सवार गुल्मी रुरु गाउँपालिका ५ की ४२ वर्षीय राधिका भण्डारी घाईते हुनु भएको छ । घाईतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । ट्रकका सहचालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण राती अवरुद्ध भएको सडक करिव तीन घण्टापछि सुचारु भएको थियो भने सडकमा सवारी सुचारु भएको खाधा घण्टा भित्रै उक्त दुर्घटना भएको हो । नेपालीहरुको नजिकिँदै गरेको वडा दशैं नजिकिँदै गर्दा भएको यो दुर्घटनापछि यात्रु त्रसित भएका छन् ।