सभापति कोइराला र राजदूत टेप्लिजबीच भेट

430

सभापति कोइराला र राजदूत टेप्लिजबीच भेट

pm

काठमाडौं/नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेप्लिजले बुधबार बिहान शिष्टाचार भेट गरेका छन् ।

कोइराला निवास महाराजगञ्जमा भएको भेटमा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध, अमेरिकाले नेपालको आर्थिक–सामाजिक विकासमा पु¥याएको योगदान, नेपालको पछिल्लो राजनीतिक अवस्था र सभापति कोइरालाको आसन्न अमेरिका भ्रमणका विषयमा कुराकानी भएको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कोइरालाले राजनीतिक दलहरुबीच समझदारी र सहमति कायम गरी लोकतान्त्रिक संविधान निर्माण गर्ने लामो प्रक्रियालाई निष्कर्षमा पु¥याइएको बताए ।

उनले अहिले नेपालका सबै राजनीतिक दल लोकतान्त्रिक पद्दतिको एकै छातामुनि आउनु निकै सुखद् पक्ष भएको बताए।

सभापति कोइरालाले नेपालमा लोकतन्त्रको स्थापना, विकास र लोकतान्त्रिक संविधान निर्माणमा निरन्तर नैतिक समर्थन तथा नेपालको आर्थिक र सामाजिक विकासमा निरन्तर दिँदै आएको सहयोगप्रति अमेरिकाको प्रशंसा पनि गरे। उनले भूकम्पपछि अमेरिकाबाट प्राप्त सहयोग प्रसङ्ग पनि उल्लेख गरेका थिए।

सो अवसरमा सभापति कोइरालाले नेपालमा हाल देखिएको असहज अवस्थाको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सरकार र आन्दोलनकारी दलबीचको वार्ता परिणाममुखी हुनेमा आफू विश्वस्त भएको बताए ।

उनले प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस यस समस्याको शीघ्र शान्तिपूर्ण समाधानमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताउँदै मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सरकार र आन्दोलनरत दलहरु उत्तिकै चिन्तित हुनुपर्ने बताए ।

सभापति कोइरालाले अमेरिकामा स्वास्थोपचारपछि राजनीतिक भेटघाटमा पनि सरिक हुने बताएका थिए।

सो अवसरमा अमेरिकी राजदूत टेप्लिजले कोइरालाको नेतृत्वकालमा नेपालमा लोकतान्त्रिक संविधानको निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।