
काठमाडौं, ३० असोज । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ । गच्छेदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो ।
नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरममा रहेका नेता कार्यकर्तालाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ । लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन् ।
लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ । लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि भने अझै एकिकरण प्रक्रियामा असन्तुष्ट रहेको बताइए पनि उनीहरुलाई पनि गच्छेदार सहितका नेताहरु पार्टी एकिकरण प्रक्रियामा सहभागि गराउन कसरत गरिरहेका छन् ।
आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण राती अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन । निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पनि दुबै पार्टीका नेताहरु गृहकार्यमा रहेका कारण पनि आइतवार नै हुने भनिएको एकता घोषणा कार्यक्रम प्रभावित भएको थियो ।
पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छेदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । देशमा अधिनायकवादको खतरा समेत रहेको र वलियो लोकतान्त्रक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ । पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी, केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए ।
नेपाल लोकतान्त्रिक फोरमका पनि सिंगो केन्द्रीय समिति र विभिन्न तहका नेताहरु सहभागि थिए । वालुवाटारको वैठक हलमा भएको एकता घोषणा कार्यक्रममा स्थान अभाव हुँदा वाहिर चौरमा समेत भिड व्यापक थियो । एकता घोषणा कार्यक्रममा आउँदा काँग्रेस सभापति देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदारलाई कार्यकर्ताहरुले ताली वजाएर स्वागत गरेका थिए । १० बर्षपछि गच्छेदारलाई पार्टीमै ल्याउन पाउँदा देउवा निकै खुसी देखिएका थिए ।