पहिलो चरणको चुनावी मनोनयन दर्ता =गज्जबको भिडन्त

1.3K

पहिलो चरणको  चुनावी मनोनयन दर्ता =गज्जबको भिडन्त

काठमाडौं, ५ कात्तिक – मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता सम्पन्न भएको छ । हिमाली तथा पहाडी गरेर ३२ जिल्लामा विहान १० बजेबाट शुरु भएको मनोनयन साँझ ५ बजे सकिएको छ ।

अधिकांश उम्मेदवार बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि ३७ सिट र प्रदेश सभातर्फ ७४ वटा सिटका लागि आउँदो मंसिर १० गते पहिलो चरणको चुनाव हुँदैछ । सरकारले मंसिर १० मा पहिलो र दोस्रो चरणका लागि मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रले वाम तालमेल गरेर मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेपाली कांग्रेस अधिकांश स्थानमा एक्लै र केही निर्वाचन क्षेत्रमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको छ । देशभर शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता सकिएको छ ।

काँग्रेस र नयाँ शक्तिका उम्मेदवारहरू एउटै जुलुस लिएर  उम्मेदवारी दर्ता गराए

गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेका नेपाली  काँग्रेस र नयाँ शक्तिका उम्मेदवारहरू एउटै जुलुस लिएर निर्वाचन  आयोग पुगी उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका गोरखा- १ का उम्मेदवार चिनकाजी श्रेष्ठ र नयाँ शक्तिका अध्यक्ष तथा गोरखा – २ का उम्मेदवार बाबुराम भट्टराईले संयुक्त जुलुसको नेतृत्व गरेका थिए। जुलुसको अग्रपङ्तिमा काँग्रेस तथा नयाँ शक्तिका प्रदेश सभाका उम्मेदवारहरू पनि सहभागी थिए।

जुलुसका लागि संयुक्त ब्यानर बनाइएको थियो। सो ब्यानरमा नयाँ शक्ति तथा काँग्रेसको चुनाव चिन्ह अङ्कित थियो।

उम्मेदवारी दर्ता गरेपछि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले ‘वाम-लोकतान्त्रिक’ तालमेलले गोरखाका सबै क्षेत्रमा  जीत हासिल गर्ने र विकास तथा समृद्धिको ढोका खोल्ने बताए।

बाबुराम र नाराणकाजीको भिडन्त

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि यी दुई नेताले गोरखा २ बाट उम्मेदवारी दिएका हुन् ।

बाम गठबन्धनमा गएका भट्टराईले गोरखा २ निर्वाचन क्षेत्र नपाएपछि गठबन्धन नै छोडेका हुन् । भट्टराई नेपाली कांग्रेसको समर्थनमा चुनावी मैदानमा छन् । श्रेष्ठ चाहिँ वाम गठबन्धनबाट उम्मेदवार बन्दै छन् ।

माओवादी छोडेर गएका भट्टराइले श्रेष्ठको कारणले गठबन्धनबाट टिकट पाएनन् । गोरखा दुईमा भट्टराईले दुई पटक चुनाव जितेका थिए । उनीहरुबीचको प्रतिस्पर्धा तीव्र हुने अनुमान गरिएको छ । स्थानीय चुनावमा नेपाली कांग्रेस बहुमत स्थानीय तहमा जितेको छ ।

गठवन्धन विरुद्ध माओवादीका वागी उम्मेदवार

गठवन्धनमा आफ्नो भागमा परेको रामेछापमा माओवादी केन्द्रले टिकट वितरण मिलाउन नसक्दा समस्या परेको छ । विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ गठवन्धनको आधिकारिक उम्मेदवार भएपनि असन्तुष्ट माओवादी नेताहरुले वागी उम्मेदवारी दिएका छन् ।

श्रेष्ठ विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दिएकी छिन् । त्यस्तै प्रदेशसभातर्फ(क) मा माओवादीका हेन्त पौडेल वागी भएका छन् । सो क्षत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा उम्मेदवार बनेकी थिइन् । त्यस्तै –ख) मा माओवादी नेता मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन् ।

दिपक मनाङे स्वतन्त्र उम्मेदवार

मनाङबाट प्रदेश सभाका लागि एमालेबाट सिफारिस भएका डन दीपक मनाङेले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस भएका मनाङेले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी पनि मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।

काठमाडौंबाट हारेका भट्टराई ताप्लेजुङमा

काठमाडौंबाट दुई पटकसम्म चुनाव हारेका एमाले सचिव योगेश भट्टराई यसपालिको निर्वाचनमा ताप्लेजुङ पुगेका छन् । उनले एमाले माओवादी गठबन्धनको तर्फबाट ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा दुई पटकसम्म हारेपछि सुरक्षित बन्नको लागि उनी ताप्लेजुङ पुगेका हुन ।

लिम्बुहरुको बसोबास रहेको ताप्लेजुङमा कांग्रेसले पनि गैह्र लिम्बुलाई निर्वाचनमा उठाएको छ । अघिल्ला निर्वाचनहरुमा कांग्रेस र एमालेका बीच प्रतिस्पर्धा हुने गरेको थियो ।

माओवादीका तीन हाइप्रोफाइल

माओवादी केन्द्रका तीन जना हाइ प्रोफाइल नेता पहिलो चरणकै चुनावमा उम्मेदवार बनेका छन् । माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा पहिलो चरणमै उम्मेदवार बनेका हुन् । पुन रोल्पा र शर्मा रुकुमबाट उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी नेता शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार बनेका छन् ।

एउटै व्यानरमा एमाले र माओवादी

वाम एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र मनोनयनका लागि एकै व्यानरमा जिल्ला निर्वाचन कार्यलयमा पुगेका छन् । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

१० निर्वाचन क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिएको छ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा वाम गठवन्धन र कांग्रेस अनि ऊसँग चुनावी तालमेल गरेर उठेका चर्चित नेताहरुबीच चुनावी भिडन्त हुनेछ। संघीय संसदका लागि हुने यी ३७ मध्ये १० निर्वाचन क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिएको छ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई पहिलो पटक चुनाव लड्दै छन्। उनी पछिल्ला दुई संविधान सभा निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए। एमाले युवा नेता भट्टराई सुरक्षित निर्वाचन क्षेत्र खोज्दै जन्मथलो ताप्लेजुङ फर्किएका हुन्। २०४८ सालको पहिलो बहुदलीय चुनावपछि दुई क्षेत्र रहेको ताप्लेजुङमा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा हुने गर्छ।

यो जिल्लामा प्रायः कांग्रेस र एमालेले एक/एक सिट बाँड्ने गरेका थिए। पछिल्लो संविधान सभामा भने दुबै सिट एमालेले जितेको थियो। यसपालि ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ।

लिम्बूहरुको ठूलो बसोबास रहेको सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङमा यसपालि वाम गठबन्धन र कांग्रेसबाट गैरलिम्बू समुदायका उम्मेदवार उठेका छन्।

यहाँ एमाले–माओवादीका संयुक्त उम्मेदवार भट्टराईविरुद्ध कांग्रेसले केशव दाहाललाई उठाएको छ।