
बुटवल, ६ कात्तिक । देवघाट नारायणी नदिमा नुहाउने क्रममा बिहिबार नदिले बगाएर वेपत्ता भएका बुटवल १५ का राजकुमार श्रेष्ठको शव नवलपरासीको अमलटारी नजिकै नारायणी नदिमा फेला परेको छ । बिहिबार पितृ श्राद्ध गर्न देवघाट पुगेका श्रेष्ठ दाजुभाई ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा नारायणी नदिमा वेपत्ता भएका थिए ।
वेपत्ता दाजुभाईको खोजीको क्रममा दाजु चन्द्रमानको शव शुक्रबार त्रिवेणी नदि किनारमा फेला परेको थियो भने भाई राजकुमारको शव सोमबार नवलपरासी अमलटारी नजिकै नारायणी नदि किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
दाजु भाई मध्ये एक जना डुवेर अर्काले उद्धार गर्न जाँदा दुवै वेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुको शव लुम्बिनी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि सोमबार नै आफन्तजनले दाहसंस्कारका लागि रिँडी लैजाँदै छन् । शवको पोष्टमार्टम पछि नेपाली काँग्रेस अर्घाखाची र रुपन्देहीले लुम्बिनी अञ्चल अस्पताल परिसरमै श्रद्धाञ्जली अर्पण गरेका थिए ।