आनन्दवन मधुवन सहकारीको साधारण सभा सम्पन्न

710

आनन्दवन मधुवन सहकारीको साधारण सभा सम्पन्न

बुटवल, ११ कात्तिक । रुपन्देहीको तिलोत्तमामा क्रियाशिल आनन्दवन मधुवन बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २० औं साधारण सभाले शेयर लाभांस तथा कर्मचारी बोनस कोष वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तैगरी साधारण सभामा प्रस्ताव गरिएको शेयर सदस्यको अचानक दुर्घटना भएमा उपचार वापत तत्काल तीन महिनाकालागि बिना व्याज ५० हजार रुपैंया उपलव्ध गराउने बिषयलाई निरन्तरता दिन सञ्चालक समितिलाई अख्तियारी मिलेको छ ।

साधारण सभामा सहकारीका सदस्यहरुलाई आधारभूत सहकारी शिक्षा, बिभिन्न प्रकृतिका शिपमुलक तालिम तथा अवलोकन भ्रमण गराउने विषय पनि सर्वसम्मत रुपमा पारित भएको छ । साधारण सभामा अध्यक्ष एकदेव भट्टराईले वार्षिक प्रतिवेदन सहित चालु आर्थिक वर्षको ५ करोड ४१ लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

शनिबार सम्पन्न साधारण सभामा गत प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक बिद्यालय तर्फ शेयर सदस्य शेयर चन्द्रमणी न्यौपाने र दुर्गा न्यौपानेकी छोरी मन्दिरा न्यौपाने तथा नीजि बिद्यालयबाट शेयर सदस्य लेखनाथ भण्डारी र सीता भण्डारीका छोरा प्रज्वल भण्डारीलाई जनही दुई हजार रुपैंयाँ नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । उक्त सहकारीले प्रत्येक वर्ष एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्दै आएको छ ।

त्यस्तैगरी संस्थाका शेयर सदस्य जेष्ठ नागरिक तिलोत्तमा ६ का ७७ वर्षीय जंगीलाल तेली गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्यका छोराछोरीले चिकित्सा सास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेमा सम्मान गर्ने निर्णय अनुसार तिलोत्तमा ६ का डा. शोहनकुमार धितालका छोरा डा. पवनकुमार धिताललाई सम्मान गरिएको थियो ।

त्यस्तैगरी संस्थाका शेयर सदस्य शुखदेव न्यौपाने स्थानीय तहको निर्वाचनमा तिलोत्तमा ६ को वडा अध्यक्ष निर्वाचित हुनु भएकोमा उहाँलाई सम्मान गरिएको थियो भने असल ऋणी भोविन्द्रबहादुर सलामीलाई पनि सम्मान गरिएको थियो । सहकारीले शिक्षा तर्फ छात्रबृत्ति अक्षयकोषकालागि शान्ति नमुना माविलाई १० हजार रुपैंया उपलब्ध गराएको छ । उक्त रकम साधारण सभामा बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई प्रदान गरिएको हो ।

साधारण सभामा संस्थाका सल्लाहकार तथा तिलोत्तमा ६ का वडा अध्यक्ष शुखदेव न्यौपानेले सहकारीले जनताको आर्थिक अवस्था सुधार गर्दै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । कार्यक्रममा सल्लाहकारहरु ध्रुवकुमार धिताल, डोलराज बस्याल, कुलप्रसाद लामिछाने, छिमेकी सहकारी रामवन वचत तथा ऋण सहकारी संस्थाका बाबुराम भण्डारी, गरिमा बिकास बैंकका पुरुषोत्तम पाण्डे, संस्थाकी उपाध्यक्ष क्षमाकुमारी न्यौपाने, सचिव दिनानाथ ढकाल, शेयर सदस्य राजु भुसाल, मनु अधिकारी लगायतले भनाई राखेका थिए ।