विवेकशिल साझा पार्टीको घोषणापत्र सार्वजनिक

833

विवेकशिल साझा पार्टीको घोषणापत्र सार्वजनिक

बुटवल, २२ कात्तिक । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा विवेकशिल साझा पार्टीले रुपन्देहीमा पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै जिल्लामा उदयमान शक्तिको रुपमा स्थापित हुने दावी गरेको छ ।

मुलुकको राजनीति फोहोरी खेलको रुपमा बिकास हुँदै गएकाले त्यसलाई सफा गर्नकालागि विवेशशिल साझा पार्टीको स्थापना भएको बताउँदै राजनीतिलाई सुसंस्कृत बनाउन तथा सामाजिक सेवाको रुपमा स्थापित गर्नकालागि आफूहरुलाई मतदान गर्न आग्रह गरिएको हो । पाँच क्षेत्र रहेको रुपन्देहीमा विवेशशिल साझा पर्टीले प्रत्यक्ष तर्फ प्रतिनीधि सभामा क्षेत्र नं. २ र ३ तथा प्रदेश सभामा २ को १ र २ तथा क्षेत्र नं. ३ को १ मा उम्मेदवारी दिएको छ ।

उक्त पार्टीले प्रतिनीधि सभामा क्षे नं. २ बाट जिल्ला संयोजक हरिकृष्ण अधिकारी र क्षेत्र नं. ३ बाट पार्थिवेन्द्र उपाध्यायलाई अंगाडी सारेको छ भने प्रदेश सभा तर्फ क्षेत्र नं. २ को १ बाट गणेश पन्थी र २ को २ बाट निलम अधिकारी तथा क्षेत्र नं. ३ को १ बाट अमित गुप्तालाई उम्मेदार बनाएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । त्यस्तै समानुपातिकमा रुपन्देहीबाट प्रतिनीधि सभामा डा. सुदर्शन धिताल र प्रदेश सभामा सरस्वता पन्थी, सर्मिला चौधरी, जमुना सुवेदी र विष्णु काउछा छन् ।

पत्रकार सम्मेलनमा उम्मेदवार निलम अधिकारीले घोषणापत्र सार्वजनिक गर्दै मानव जिवनका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, आवास, खानेपानी र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, देशमा युवाको बढ्दो वेरोजगारी र विदेश पलायनलाई रोक्नकालागि साना तथा घरेलु उद्योगको समुचित बिकास गरि रोजगारी सिर्जना गर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक हरिकृष्ण अधिकारीले विवेकशिल साझा पार्टीमा युवाको आकर्षण रहेको र आफूहरुले सुसंस्कृत राजनीतिलाई अंगाडी बढाएकाले जिल्लामा उदयमान शक्तिका रुपमा यहि चुनावबाट स्थापित हुने दावी गर्नुभयो ।