नीतिको अभावमा यातायात व्यवसायी संकटमा

1.3K

नीतिको अभावमा यातायात व्यवसायी संकटमा

बुटवल, २५ कात्तिक । राज्यको स्पष्ट कानुन तथा नीति नभएकाले यातायात क्षेत्रले समस्या भोग्दै आएको यातायात व्यवसायीले बताएका छन् । राज्यले स्पष्ट नीति नल्यांउदासम्म यातायात व्यवसाय फस्टाउन नसक्ने उनीहरुले बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले व्यवसायीका समस्याप्रति राज्यको ध्यान जान नसकेको बताए । यातायात व्यवसायीका समस्यालाई राज्यले नबुझेकाले व्यवसाय धरासायी अवस्थामा पुगेको गुनासो उनीहरुले गरे । भारतीय ओभरलोड गाडीलाई निर्वाध रुपमा छुटदिंदा नेपाली गाडीहरुले काम नपाउंदा व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनीहरुको भनाई छ ।

भारतीय ओभरलोड गाडीहरुका कारण सडक, पुलपुलेसाहरु भत्किने गरेको र दुर्घटना बढ्दा पनि नियमनकारी निकाय मौन रहंदा समस्या भएको उनीहरुले बताए । ब्यवसायीहरुले भारतीय ओभरलोड गाडीहरुलाई सरकारले नरोके आन्दोलनमा जाने समेत वताएका छन् । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि सबैसंग सहकार्य र एकता गरेर अघि बढ्नु पर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले राज्यले यातायात व्यवसायीका समस्या बुझ्न नसकेको बताउनुभयो । उहांले राज्यको गलत नीतिले व्यवसाय धरापमा परेको उल्लेख गर्दै अध्यक्ष रानाभाटले सिंह दरवारले सुन्ने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले हरेक क्षेत्रका व्यवसायीका समस्याको समाधान गर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो दायित्वलाई पुरा गर्न नसकेको बताउनुभयो । महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले पेशालार्ई मर्यादित र व्यवस्थित गराउंदै अधिकारका लागि व्यवसायिक एकता आजको आवश्यक्ता रहेको बताउनुभयो ।

सिद्वार्थ नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीले हरेक क्षेत्रका व्यवसायीका समस्याप्रति स्थानीय सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । समुन्नत समाज र देशको विकासका लागि चरित्रको रुपमा राजनीति गर्नेहरु सुध्रनु पर्नेमा उहांले जोड दिनुभयो ।

कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी संघ बुटवलका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगर पालिकाका नगर प्रमुख वासुदेव घिमिरे, देवदह नगर पालिकाका नगर प्रमुख हिराबहादुर केसी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल यातायात मजदुर संघका अध्यक्ष कृष्ण वेलवासे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष कृष्ण कंडेल लगायतले यातायातको क्षेत्रमा राज्य गम्भीर बन्न नसकेको धारणा राख्नु भएको थियो ।

संघका अध्यक्ष टिकाराम गौतमको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागत र संघका कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु सिद्वार्थ नगर पालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारी, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगर पालिकाका नगर प्रमुख वासुदेव घिमिरे, देवदह नगर पालिकाका नगर प्रमुख हिराबहादुर केसी, बुटवल वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री लगायतलाई सम्मान गरिएको थियो । साधारण सभाले महासचिव हरिप्रसाद कंडेल र कोषाध्यक्ष सिद्धार्थ उदयले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरेको छ ।