कांग्रेसको आन्तरिक रिपोर्ट-प्रतिनिधि सभामा ७२ सिट जित्ने

1.3K

कांग्रेसको आन्तरिक रिपोर्ट-प्रतिनिधि सभामा ७२ सिट जित्ने

 काठमाडौं/कांग्रेसको आन्तरिक रिपोर्टमा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कम्तीमा ७२ सिटमा जित हासिल हुने दाबी गरिएको छ। निर्वाचन क्षेत्र र जिल्ला तहबाट आएको रिपोर्टिङका आधारमा प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये कम्तीमा ७२ सिट जित्ने निष्कर्षमा कांग्रेस पुगेको हो।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १५४ मा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ। राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी देशभर चुनावी तालमेल गरेको छ भने संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ।

कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपालाई प्रतिनिधि सभामा ४ सिट दिएको छ भने राप्रपा प्रजातान्त्रिकलाई ४ सिट दिएको छ। कांग्रेसले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई महोत्तरी–३ नम्बर क्षेत्र छोडेको छ। यस्तै, संघीय समाजवादीका नेता अशोक राईका लागि सुनसरी क्षेत्र नम्बर १ कांग्रेसले छोडेको छ।

कांग्रेसले राप्रपालाई मकवानपुर–१, बाँके–२, दैलेख १ र काठमाडौं–७ छोडेको छ भने राप्रपा प्रजातान्त्रिकलाई सिन्धुपाल्चोक–१, चितवन–३, रुपन्देही–३ र धनकुटामा गरी चारवटा निर्वाचन क्षेत्र छोडेको छ। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका लागि गोरखा क्षेत्र नम्बर २ छोडेको कांग्रेसले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले र माओवादी केन्द्र बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएपनि काठमाडौंमा ५ वटा निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दाबी गरेको छ।

आन्तरिक रिपोर्टले काठमाडौं–१, काठमाडौं–३, काठमाडौं–४, काठमाडौं–८ र काठमाडौं १० नम्बर क्षेत्रमा चुनाव जित्ने देखाएको कांग्रेसका एक नेताले जानकारी दिए। उनका अनुसार ललितपुर–१ र ललितपुर क्षेत्र नम्बर ३ तथा भक्तपुर २ मा पनि जित निश्चित भएको आन्तरिक रिपोर्टले देखाएको छ।

यस्तै, काठमाडौं–२, काठमाडौं–५, काठमाडौं–९, ललितपुर–२ र कास्की–१ लाई सम्भावित जितको सूचीमा राखेको छ। अघिल्लो निर्वाचनमा जितेका ललितपुर–२, काठमाडौं–९ र कास्की १ मा यो पटक पनि कांग्रेसले पुरानै उम्मेदवारलाई उठाएको छ। एमालेका माधव नेपालले छोडेपछि भएको उपनिर्वाचनमा जितेका दिपक कुइकेललाई नै यो निर्वाचनमा कांग्रेसले काठमाडौं–२ को उम्मेदवार बनाएको छ।

कांग्रेसले मोरङ १ र ३, तेह्रथुम, भोजपुर, दाङ–२, कैलाली–१ र बाजुरालाई पनि जित्न सक्ने सम्भावना रहेको सूचीमा राखेको छ। यी १२ वटा क्षेत्रमा मेहेनत गर्दा जित्न सकिने कांग्रेसको निष्कर्ष छ।

कांग्रेस चुनावी परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पनि बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४५ प्रतिशत सिट जित्ने दाबी गरेका थिए। खाँणको दाबी कांग्रेसको आन्तरिक रिपोर्टसँग मिल्दो जुल्दो नै छ। खाँणको दाबी पनि कांग्रेसले कम्तिमा ७५ वटा निर्वाचन क्षेत्रमा चुनाव जित्ने नै छ।