काठमाडौं, ४ मंसिर– पूर्वप्रधानमन्त्री तथा बाबुराम भट्टराई नेतृवत्वको नयाँ शक्ति नेपाल पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गोरखा र मकवानपुरमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।
सहमतिअनुसार दुवै पार्टीले गोरखा र मकवानपुरमा एक–अर्को पार्टीका उम्मेदवारलाई सघाउने छन् । गोरखा–२ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । भट्टराईलाई कांग्रेसको समेत समर्थन छ । अब गोरखा–२ मा राप्रपाले समेत भट्टराईलाई सहयोग गर्नेछ ।
यस्तै मकवानपुरको क्षेत्र नम्बर १ बाट राप्रपा अध्यक्ष कमल थापा उम्मेदवार छन् । कांग्रेससमेतको समर्थनमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापालाई अब बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पनि चुनाव जित्न सघाउने छ ।
नयाँ शक्तिका राजनीतिक सम्बाद समितिका संयोजक देवी प्रसाद ओझा र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले संयुक्त विज्ञप्ती जारी गर्दै गोरखा र मकवानपुरमा चुनावी तालमेल भएको बताएका छन् ।