इन्धन अभावले हवाई उडान बन्द हुर्दै

656

इन्धन अभावले हवाई उडान बन्द हुर्दै

TIA-Domestic-Airlinesकाठमाडौं । हवाइ इन्धनको अभाव भएपछि आइतबारदेखि निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले बताएका छन् । आइतबारदेखि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुनेछ ।
यादवका अनुसार अहिले डिपोमा १४० किलोलिटर मात्र हवाइ इन्धन मौज्दात छ । आयल निगमले शनिबार ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने, तर आइतबारदेखि तेल दिन नसक्ने जनाएकाले आइतबारदेखि आन्तरिक उडान बन्द हुने यादवले बताए ।
नेपाल एयरलाइन्सले सम्झौता अनुसार इन्धन नल्याइदिँदा आन्तरिक उडान पनि बन्द गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्राष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ ।
नेपाल एयरलाइन्सले कार्गो उडान गरी बोकेको इन्धनबाट चलेको आन्तरिक उडानलाई समेत आइतबारदेखि इन्धन उपलब्ध गराउन नसक्ने अवस्थामा निगम पुगेको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरुले विभिन्न ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भरेर उडान गरिरहेका छन् । यसरी उडान भर्दा खर्च दोब्बर भएको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरुले यथासक्य चाँडो इन्धनको जोहो गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
तर, यहाँ इन्धनको अभावले आन्तरिक उडान समेत बन्द हुने भएको छ । ‘आन्तरिक उडान सुचारु राख्न नेपाल एयरलाइन्ससँग दैनिक ४ वटा कार्गो उडान गरी इन्धन ल्याउने सम्झौता भएको थियो’ हवाइ इन्धन डिपो प्रमुख यादवले भने- ‘तर, उसले सम्झौता अनुसार तेल ल्याइदिएन ।’
दैनिक एउटा दुईवटामात्र कार्गो उडान गरी इन्धन ल्याउँदा प्रयाप्त हुन नसकेको यादवको भनाइ छ । नेपाल एयरलाइन्सले तीन वटासम्म भए पनि उडान गरी इन्धन ल्याइदिएमा आन्तरिक उडान सुचारु राख्न सकिन्छ’ उनले भने- ‘नेपाल एयरलाइन्सले त यति पनि गरिदिएन, जसले गर्दा अतिआवश्यक आन्तरिक उडान समेत बन्न गर्नुपर्ने अवस्था आयो ।’