
बुटवल, ६ मंसिर । नेपाली काँग्रेसका पुराना नेता रुपन्देहीको तिलोत्तमा १० निवासी कृष्णप्रसाद पौडेलले पार्टीले टिकट नदिएर अन्याय गरेकाले आफूले अहिले न्यायको लडाई लडेको बताउनु भएको छ ।
नेपाली काँग्रेसमा रहेर ४० वर्षसम्म नेपाली जनताको स्वतन्त्रताको लडाई लडेका पौडेलले पार्टीले आफूलाई अन्याय गरेपनि मतदाताले न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘पार्टीले टिकट दिन्छ भन्ने विश्वास थियो ।’ उहाँले भन्नुभयो–‘पार्टीले मलाई अन्याय गर्यो, मतदाताले न्याय दिन्छन् भन्ने विश्वास गरेको छु ।’
पटक पटक पार्टीले आफूलाई कहिँपनि स्थान नदिएको बताउँदै अहिले प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा स्थान दिन्छ भन्ने विश्वास गरेको बताउँदै उहाँले अन्तिममा नेताहरुबाट विश्वास घात भएपछि स्वतन्त्रता र आत्मसम्मानका लागि पनि आफूले स्वतन्त्र उम्मदवारी दिएर निर्वाचनमा होमिएको बताउनु भयो ।
पार्टीले टिकट नदिएपछि रुपन्देहीको क्षेत्र नं. १(२) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेल अहिले चुनावी प्रचार अभियानमा हुनुहुन्छ । निर्वाचन आयोगले उहाँलाई बालक चुनाव चिन्ह प्रदान गरेको छ । सधै रुखमा भोट माग्ने पौडेल अहिले बालक चिन्हमा भोट माग्दै मतदाता रिझाउन हिँड्नु भएको छ ।
उहाँले स्वतन्त्र उम्मेदवारी दिएसंगै पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गर्नुभएको थियो । त्यस लगत्तै नेपाली काँग्रेस रुपन्देहीले पनि जिल्लाभरीका बागी उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको बताएको थियो । घरदैलोमा रहनुभएका उम्मेदवार पौडेलले आफ्नो पक्षमा माहौल राम्रो भएको र चुनाव जित्ने ठोकुवा गर्नुभयो ।
आफ्नो उम्मेदवारीले त्यस क्षेत्रका अन्य उम्मेदवारलाई ठूलो धक्का पुगेको उल्लेख गर्दै सबै पक्षबाट आश्वास प्राप्त भएकाले न्याय हुने विश्वास व्यक्त गर्नुभयो । चुनाव प्रचार प्रसारका क्रममा सबै ठाउँमा सकारात्मक सन्देश पाएको र जनलहर पनि उत्साहजनक रुपमा भएको प्रचार समितिका सदस्य उमानन्द घिमिरेले बताउनु भयो । घिमिरे वडा नं. १० मा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य पनि हुनुहुन्छ । उक्त वडामा अध्यक्ष देखि सबै सदस्य नेपाली काँग्रेसले जितेको वडा पनि हो ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष ब्यासमुनी चौधरीदेखि सबै सदस्यहरु अहिले खुलेर पौडेको पक्षमा मत मागिरहेका छन् । २०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरि राजनीति आरम्भ गर्नुभएका पौडेल पार्टीका बिभिन्न जिम्मेवारी सम्हालीसक्नु भएको थियो । पार्टीमा रहेर नेपाली जनताको स्वतन्त्रताको लडाईमा उहाँले एउटा आँखा समेत गुमाउनु भएको छ । ‘अहिलेसम्म नेपाली जनताको स्वतन्त्रताको लडाई लडे, आँखा गुमाएँ ।’ उहाँले भन्नुभयो–‘अब मेरो स्वतन्त्रताको लडाईमा साथ दिनुहोस् ।’