बुटवल, ६ मंसिर/नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बामपन्थीले अरु कसैबाट लोकतन्त्रको प्रमाणपत्र लिनु नपर्ने बताउनुभयो । काँग्रेसले बाम गठबन्धनलाई लोकतन्त्रविरोधीको आरोप लगाएको सन्दर्भमा अध्यक्ष ओलीले सोकुराको खुलासा गर्नु भएको हो ।
बाम गठबन्धनका बारेमा चर्चा गर्दै अध्यक्ष ओलीले एउटै अभियान, एउटै लक्ष्य भएका कारण दुई पार्टी राख्नु उपयुक्त नभएकाले एकता प्रक्रियामा अगाडि बढेको स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनपछि जनताले अनुभुत गर्ने गरी सरकार बन्ने समेत उहाँले बताउनुभएको छ । ‘निर्वाचनमा बाम गठबन्धनले अत्यधिक बहुमत ल्याएर सरकार भनेको कस्तो हुन्छ भन्ने देखाउँछ’, उहाँले भन्नुभयो ।
बुधवार बुटवलमा संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै अध्यक्ष ओलीले २००७ सालयता देशले पाँच वर्ष टिक्ने स्थिर सरकार नपाएको उल्लेख गर्दै अव स्थिर सरकार निर्माण हुने र जनतालाई छ भन्ने अनुभुती दिलाउने गरी काम गरिने दावी गर्नुभयो ।
‘अव कसैले ढाल्न नसक्ने सरकार बनाउँछौं र देशलाई समृद्धिको दिशामा अघि बढाउँछौं ’, उहाँले भन्नुभयो । आफूले २०४६ सालमा बुटवलको सडकमा लोकतन्त्रका लागि संघर्ष गर्दा काँग्रेस सभापति देउवा लन्डनको गल्लीमा घुमिरहेको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘उहाँहरुलाई साईजमा रहेर गफ गर्न मेरो सुझाव छ ।’,
अध्यक्ष ओलीले काँग्रेस कार्यकर्ताहरुलाई पनि बाम गठबन्धनको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा विश्वास गर्न आग्रह गर्दै बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयो । ‘काँग्रेसका कार्यकर्ताहरु तपाईहरुले पनि बाम गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्नुहोस्, खेर जाँदैन, महायज्ञमा तपाईहरुको पनि थोरै मात्रामा चरु होम भएको हुन्छ, तपाईका सन्ततीहरुको भविष्य सुन्दर हुन्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले बाम गठबन्धन चुनावका लागि मात्र नभई एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि भएको स्पष्ट पार्नुभयो । आगामी निर्वाचनले यथास्थितिमा रहने कि समाजवादतर्फ अगाडि बढ्ने भन्ने कुराको फैसला गर्ने भन्दै उहाँले बामपन्थीको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले रुपन्देहीका सबै क्षेत्रमा बाम गठबन्धनले विजय हासिल गर्ने दावी गर्दै पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
अर्का उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम भुसालले सबै नेपालीलाई एकतावद्ध गरेर समृद्धिको दिशामा अगाडि बढ्न बाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।
माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार डिलाराम आचार्यले अब कम्युनिष्टहरु जुट्ने र काँग्रेसहरु फुट्ने पालो सुरु भएको भन्दै विकास र समृद्धिका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
त्यस अवसरमा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री, एमाले नेता खिमलाल भट्राईलगायतले मुलुक बामपन्थीमय भएको चर्चा गर्दै बाम उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।