स्विटजरल्याण्डको जेनेभास्थित भारतीय नाकाबन्दीको बिरोध प्रदर्शन !! अन्नपुर्ण पोस्ट दैनिकका सम्पादक युवराज घिमिरे देखि इन्सेकका प्रतिनिधि सम्मको उपस्थिति

928

स्विटजरल्याण्डको जेनेभास्थित भारतीय नाकाबन्दीको बिरोध प्रदर्शन !!  अन्नपुर्ण पोस्ट दैनिकका सम्पादक युवराज घिमिरे देखि इन्सेकका प्रतिनिधि सम्मको उपस्थिति

निराजन श्रेस्ठ/स्विटजरल्याण्ड

स्विटजरल्याण्डको जेनेभा स्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरुले भारतीय नाकाबन्दी बिरुद्ध बिरोध प्रर्दशन गरे ।

भारतीय नाकाबन्दीका कारण नेपाली जनताको मानव अधिकार हनन भएको र गम्भीर मानवीय संकट उत्पन्न भएको भन्दै नेपालीहरुले यसविरुद्ध आवाज उठाउन विश्व समुदायलाई आह्वान गरेका छन् । स्थानीय समयअनुसार अपरान्ह दुई बजेर तिस मिनेटमा सुरु भएको प्रर्दशन झण्डै दुई घण्टा चलेको थियो ।

स्वीटरल्याण्ड तथा स्वीटरल्याण्डका छिमेकि रास्ट्रहरुबाट प्रदर्शनमा सहभागिता लिन आएका नेपालीहरु साथै नेपाल प्रेमी बिदेशीहरुले `नेपाली सार्वभौम देश हो ` ‘नाकाबन्दी तत्काल फिर्ता गर’ `नेपालको पारवहन अधिकार सुनिश्चित गर` `नेपाली जनताको मानवअधिकार सुनिश्चित गर` जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रर्दशन गरेका थिय । उक्त प्रदर्शनमा ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले नाकाबन्दीको पीडा आफुले नजिकबाट अनुभव गरेको भन्दै ‘नेपालको संविधान कस्तो बनाउने हामी नेपालीको कुरा हो !! नेपालमा बिभिन्न जाति, भाषी, समूदाय, वर्ग र क्षेत्रका जनता माथि भएको असहजता, अन्यायका बिषयलाइ हामी र हाम्रै राज्यले आन्तरिक रुपमा जिम्मेवारीका साथ् पूरा गर्ने हो । बाहिरबाट कसैले हस्तक्षेप गर्न पाइदैन । यसका बिरुद्द नेपालीहरु एक जुट भै भारतीय हस्तक्षेप र नाकाबन्दीका विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघले यस नाकाबन्दी बिरुद्ध कुनै बिरोध नजनाएको बिषयमा यूरोप पत्रकार तथा लेखक ददि सापकोटाको जिज्ञासालाइ प्रस्ट्याउँदै नेपालका परराष्ट्र मन्त्री कमल थापा स्वयंले अन्तर्राष्ट्रिय मञ्चमा भारतीय नाकाबन्दीको बिरोध गरेका कारण सजिलो भएको र अब चांडो भन्दा चांडो केन्द्रबाट नाकाबन्दी बिरुद्ध कथन सार्वजनिक हुने कुरा पूर्व अध्यक्ष लामिछाने बताए ।

विरोध प्रर्दशनमा बोल्दै कानुन ब्यबसायी गोविन्द बन्दीले भारतीय नाकाबन्दिका कारण मानव अधिकारको हनन भएको कुरा प्रष्ट पार्दै भने ‘नेपालका ६० लाख वालवालिका स्कूल जानबाट बञ्चित भएका छन् । करिब ४० हजार स्कूलहरु बन्द भएका छन् । सयौं अस्पतालहरु प्रभावित भएको करोडौं जनता इन्धन अभावका कारण छटपटाइरहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई भारतीय अपराधविरुद्ध बोल्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गरे ।

‘नेपालमा विभिन्न खालका आन्तरिक समस्याहरु छन् यी समस्याहरुलाई हामी आफैले नै आन्तरिक रुपमा समाधान खोज्नु पर्छ । आफै गर्नुपर्छ । छिमेकि रास्ट्रको तर्फबाट सल्लाह,सुझाव,र चासो राख्ने कुरा स्वभाविक हो तर हस्तक्षेप गर्ने कुरा हुँदैन र पाईदैन । त्यसैले अहिले भारतले नाकाबन्दी गरेर हाम्रो देश नेपाललाइ र नेपालीहरुलाई सास्ती र दबाब दिने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय कानुनको पनि बर्खिलाप गरिरहेको छ` भन्दै गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका निबर्तमान महा सचिव सुबास पोख्रेलले बताए ।

यस भारतीय नाकाबन्दी बिरोध प्रदर्शन पत्रकार ददि सापकोटा सहित केहि स्विसबासि नेपाली साथिहरुको आयोजनामा भएको थियो । उक्त प्रदर्शन सौम्य र शान्त रुपमा सफल रह्यो ।

अहिले जेनेभास्थित राष्ट्रसंघीय नियोगमा विश्वव्यापी आवधिक समीक्षा(युपिआर) २ अक्टोबर देखि आज ६ अक्टोबर सम्म चल्ने छ । यसमा भाग लिन नेपाल बाट परराष्ट्र मन्त्री कमल थापा , दलित, महिला तथा वालवालिका अधिकारकर्मी, द्वन्दका घटना, मानव अधिकारको निगरनी तथा  अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दि र (प्रेस) अन्नपुर्ण पोस्ट दैनिकका सम्पादक युवराज घिमिरे लगायतका विषयका ज्ञाताहरु सहभागि हुन आएका छन् ।

बिरोध प्रदर्शनीमा नेपाल बाट आएका अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दि, मानव अधिकारवादी लगायतका टोली, गैर आवासीय नेपाली संघका निबर्तमान अध्यक्ष जीवा लामिछाने,अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक युवराज घिमिरे, स्विसबासि नेपाली लगाएत विभिन्न युरोपेली मुलुकका नेपाली तथा नेपाल प्रेमी बिदेशीहरुको उपस्थित रहेको थियो ।