रुपन्देही /नेपाली कांग्रेसकी नेतृ तथा पूर्व मन्त्री चित्रलेखा यादवले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई भारी बहुमतले विजयी वनाउन मतदातासंग आग्रह गर्नुभएको छ ।
उहाँले अव मुलुकमा दुई शक्ति लोकतन्त्रवादी र बाम गठवन्धनवीच मात्र चुनावी प्रतिष्पर्धा देखिएको वताउँदै बाम गठवन्धनले निर्वाचन जिते ५० वर्ष एकलौटी शासन गर्ने दावी गरेकोले नेपाली कांग्रेसको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ ले शनिवार रुपन्देहीको सूर्यपुरामा आयोजना गरेको विशाल आमसभालाई सम्वोधन गर्दै नेतृ यादवले कम्युनिष्टहरुले मुलुकमा तानाशाही कम्युनिष्ट तानाशाही शासन लादेर ५० वर्ष शासन गर्ने दिवास्वप्ना देखेको उल्लेख गर्दै तर उनीहरुको सपना जनताले अस्वीकार र असफल वनाईदिने दावी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसले इतिहासका गंभीर कालखण्डमा प्रजातन्त्र रक्षाका लागि संघर्ष गरेको वताउँदै आवश्यक परे नेपालका बाम गठवन्धनसंग मात्रै होइन विश्वकै निरंकुशताविरुद्ध लड्ने शाहस राख्छ भन्नुभयो ।
नेपाली कांग्रेस मधेशको, तराईको, हिमालको र पहाडको सवैको पार्टी हो, उहाँले भन्नुभयो– नेपालका जुनकुनै भूगोलमा वस्ने भएपनि कांग्रेसले भूगोलको परिधिमा राजनीति गर्दैन, तसर्थ यो सवै जातजाति, भाषाभाषी र समुदायको पार्टी हो ।
कांग्रेस भएकै कारण डा. रामवरण यादव राष्ट्रपति हुनुभयो, महन्थ ठाकुर आज जुन उचाईमा हुनुहुन्छ त्यो कांग्रेसकै देन हो भन्दै उहाँले कांग्रेस छाडेर जानुभएका मधेशका नेताहरु अव फेरी कांग्रेसमै फर्किदै हुनुहुन्छ त्यो भनेको कांग्रेसको लोकतन्त्रप्रतिको उदारता हो भन्नुभयो ।
सभामा बोल्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले आफू यस क्षेत्रवाट दुई दुईपटक विजयी भएर गएको र उल्लेख्य विकास गरेको वताउँदै अवपनि विकासकै लागि भोट दिन आग्रह गर्नुभयो ।
उहाँले क्षेत्र नं. ५ मा धेरै विकास भएको छ, बाटो निर्माण भएका छन, सिंचाईको व्यवस्था ह्ुँदैछ तर त्यतिले मात्र पुग्दैन अझै विकासको खाँचो छ भन्दै अव गाउँ गाउँमा विकास गर्न, गल्ली गल्लीका बाटो पिच गर्न आफूलाई विजयी वनाउन अनुरोध गर्नुभयो ।
आफ्नो क्षेत्रमा धेरै विकासका काम गरेको स्मरण गर्दै उहाँले अव एकपटक यस क्षेत्रको मूख्य समस्या रहेको सुकुम्वासी समस्या समाधानका लागि मतदान गर्न सम्पूर्ण मतदातासंग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ क का प्रदेश सभाका उम्मेदवार विष्णु् पोखरेलले नेपाली कांग्रेसले जित हासिल नगरे मुलुकमा लोकतन्त्र नरहने बामपन्थी गठवन्धनका नेताहरुको भनाईले स्पष्ट गरेकोले अव लोकतन्त्र बचाउन पनि नेपाली कांग्रेसलाई मतदान गरेर विजयी वनाउन अनुरोध गर्नुभयो ।
उहाँले आफू निर्वाचित भए यहाँका जनताको लागि दिनरात नभनी लाग्ने प्रण गर्दै जस्तो कठिन काममा पनि जनताकै सेवामा समर्पित हुने प्रतिवद्धता गर्दै नेपाली कांग्रेसलाई मतदान गर्न अनुरोध गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का उम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको दिर्घकालीन विकासको भिजन आफूहरुसंग रहेकोले नेपाली कांग्रेसले विजय प्राप्त गर्नु आवश्यक रहेको चर्चा गर्दै अव राजनैतिक मुद्दा समाप्त भैसकेकोले विकासको लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
पूर्व मन्त्री ज्योतेन्द्रमोहन चौधरीले आफू २०४८ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ वाटै जनताले निर्वाचित वनाएर पठाएको स्मरण गर्दै वीचमा केही समय राजनीतिवाटै निष्कृय रहेपनि अहिले लोकतन्त्र खतरामा परेकोले कांग्रेसमा सकृय भएर राजनीतिमा आएको र सवैले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर कांग्रेसलाई विजयी वनाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का सभापति वसीउल्लाह मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका जिल्ला सदस्य दुर्गा खनाल, नेपाली कांग्रेसका नेता योगेन्द्रसिंह चौधरी, सूर्यपुरा गाविसका पूर्व अध्यक्ष सत्यनारायण पथिक, प्रचार प्रसार समितिका संयोजक रणवहादुर खनाल लगायतले बोल्नुभएको थियो ।