बुटवल– देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपि गजुरेलले मुलुकमा सिक्किमिकरणको खतरा झन बढेर गएको बताएका छन् ।मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता थप खतरामा पर्दै गएको बताउदै उनले मुलुकलाई सिक्किमिकरण हुनबाट रोक्नका लागि देशभक्त जनताहरु एकजुट भएर आन्दोलनमा उत्रिनुको बिकल्प नभएको बताए ।क्रान्तिकारी पत्रकार माहासंघ रुपन्देहीद्वारा आईतबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावि मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक गजुरेलले अहिलेको निर्वाचन पश्चगामि संबिधान कार्यान्वयन लागि भएको बिचार व्यक्त गरे ।अहिलेको निर्वाचनमा जनतामा उत्साह नआएको बताउदै गजुरेलले मुलुकमा भएको ठुलो प्रतिक्रान्तिको घटना पछी हुन लागेकोले निर्वाचनमा जनता उत्साहित नभएको दाबी गरे । चुनाव जितेर आफुहरु सरकारमा सहभागि हुनका लागि नभएर आफ्ना पार्टीका एजेण्डाहरु जनतामा लैजानका लागि चुनावलाई उपयोग गरेको बताउदै उनले आफ्नो पार्टीको घोषणा पत्रमा बिकासका काल्पनिक योजना भन्दा जनगणतन्त्रवादी शासन व्यवस्था स्थापनामा जोड दिएको बताए ।प्रमुख दलहरुबिच भएका दुई गठवन्धनलाई दुई दलिय अधिनायकवादको संज्ञा दिदै गठवन्धन मुलुकको बिकासका लागि नभएर दुई गठवन्धनले मात्र पालै पालो सत्ता चलाउनका लागि भएको आरोप लगाए । आफुहरुको माग लोकतान्त्रिक गणतन्त्र नभएर चिनको जस्तो जनवादी जनगणतन्त्र भएको उल्लेख गर्दै गजुरेलले जनगणतान्त्रिक शासन व्यवस्था प्राप्तिको आन्दोलनको वातावरण बनाउनका लागि पनि आफुहरुले चुनावलाई उपयोग गर्ने कार्यनीति बनाएको जानकारी गराए ।
जनगणतन्त्र स्थापना गर्नका लागि आन्दोलनको नेतृत्व गरेका केही नेताहरुले प्रतिक्रियावादी र सामन्ति राज्यसत्तासँग आत्मसमर्पण गरेको आरोप लगाउदै उनले अहिलेकै संसदिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा सहभागि हुनका लागि मुलुकमा किन रक्तपात मच्चाएको हो ? भनि जनतालाई जवाफ दिनुपर्ने कुरामा जोड दिए । माओवादी केन्द्रले राजनीतिको सामान्य नियम समेत उल्लंघन गरेर राजनीतिलाई थप बिकृत बनाएको बताउदै उनले सरकामै रहेर सरकारको नेतृत्वकर्ता दलको बिरुद्ध मोर्चावन्दि गर्नु कुन राजनीतिक संस्कार र चरित्र भित्र पर्छ भनि प्रश्न गरे । प्रमुख दलहरुले भ्रस्टाचार,तस्कर,ठेकेदार र डनहरुलाई उम्मेदवार बनाएको बताउदै उनले भ्रस्टाचार,तस्कर,ठेकेदार र डनहरुको हातबाट शुसासन र मुलुकको बिकास सम्भव नहुने बताए । कार्यक्रम क्रान्तिकारी पत्रकार माहसंघ रुपन्देहीका अध्यक्ष टेक बहादुर मास्की रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।