यसपालि नि ओइलियो मखमली

667

यसपालि नि ओइलियो मखमली

सन्तोष थापा मगर

अनिलको पर्खाइमा आगनीको ढिलमा लहलह झुलेका मखमली फुलका थुंगाले यसपटक पनि रोजेको मान्छेलाई पहिरन नपाउने भयका छन । दिदीबहिनीले अनिललाई पहिरने आशमा रोपेको मखमली बोटमा नै ओइलिन बाध्य छन् । अनिल उर्फ पर्वत जिल्लाका एकमात्र बेपत्ता नागरिक ।

नयाँ नेपाल परिवर्तनको संघारमा उभिएर सरकारले जतिसुकै शान्ति र राहतको आश्वासन दिएपनि स्थानीय स्तरमा रहेका द्वन्दपिडितका पिडा र बेदना भने जस्ताको त्यस्तै छन् । देशमा जतिसुकै राहत र शान्तिका सवालहरु उठेपनि द्वन्दको घाउ विस्तारिन सकेको छैन दुरदराजका द्वन्दपिडितहरुको । कतिपय बेरोजगार बनेर आफ्नो र परिवारको जीवन धान्न मुल्य ध्येयले रोजगार बनेका युवाहरु संधैका लागि फर्किएनन् भने कति उच्च शिक्षा हासिल गर्न घरबाट बाहिरिएका युवा समेत घर फर्कन सकेनन् ।

पर्वतको ठूलिपोखरी गाविसकी ६८  बर्षिय गुमादेवीका एकदशक देखि छोरो आउने बाटो ढुकेर बसिरहदा आँखा ओभाएर सुकिसके तर आज आउँला भोलि आउँला भन्दा भन्दै जीवनले कोल्टो फेर्ने बेला भइसक्यो तर छोरा फर्केन । ०६० मा उच्च शिक्षा हासिल गर्न भनेर शहरकेन्द्रीत बनेको उनको छोरा अनिल पौडेल अहिलेसम्म घर फर्कन सकेका छैनन् । तत्कालिन समयमा गाउंमा उच्च शिक्षा तहमा गुणस्तर शिक्षा लिन नपाइने भएपछि छिमेकी कास्की जिल्लाको पोखरा अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्न गएका छोरा गएको बारबर्ष वितिसक्दा सम्म घर फर्कन सकेनन् । पढ्न गएका पौडेललाई अध्ययनरत रहेकै बेला क्याम्पसबाटै तत्कालिन विद्रोही नेकपा माओवादीको आरोपमा राज्य पक्षले बेपत्ता पा-यो ।

तत्कालिन शाही सेनाले ६ फागुन ०६० मा कयाम्पस हाताबाटै पक्रेर लगेको थियो अनलिलाई । तर छोरालाई कसले, कुन समयमा, कसरी लगे भन्ने कुरा आफ्नै आंखाले देख्न नसकेपछि उनलाई बेपत्ता बनाएको भन्ने कुरा समेत पत्यार लाग्दैन । ‘छोरालाई पक्राउ गर्दाको बेला तुरुन्तै खबर पाएको भएपनि हार गुहार गर्थे केही हदसम्म मन सांखु त हुन्थ्यो, धेरै दिनपछि मात्र मेरो कानमा छोरा बेपत्ता बनेको खबर प-यो’ उनी भन्छिन् ।

पछिल्लो समयमा छोराकै खोजीमा विभिन्न सुरक्षा निकाय देखि मानवअधिकारकर्मी, प्रशासन र राजनीतिक दल समक्ष छोरा खोजिनिति गरिदिन विन्ति चढाउंदै हिडेकी छिन् तर अहिले सम्म कुनै ठोस खबर पाउन सकेकी छैनन् उनले । परिवारको कान्छो छोराको रुपमा रहेको अनिल पाच बर्षको छँदा उनका बाबुले संसार छाडेर गएका थिए । ‘बाबुको तर्फबाट पाउनुपर्ने माया ममता समेत म आफैले दिएर छोरालाई त्यो उमेर सम्म सुखसयलमा नै हुर्काएकी थिएँ, श्रीमानको मृत्युपछि मेलापात गरेर पढाउने र हुर्काउने गर्दाका अविस्मरणीय क्षणहरु अझै आँखा वरिपरी आइरहन्छन् उनी धिकार्छिन् आफ्नो जिन्दगीलाई ‘बुढेसकालमा छोराको पौरखबाट जीवन धान्ने आशामा कति दुःख संग हुर्काए तर भर्ने बेलामा यो दशा भोग्नुपरयो |गुमादेवी आफैलाई प्रश्न तेर्साउंछिन् ‘लाउलाउँ र खाउँखाउँ उमेरको छोरो खबरविहिन रहदा कुन बाबुआमाको आँखा नरसाउनलान् र ?’
उनको कोखबाट जन्मिएका चार छोरा मध्येको कान्छा छोरा अनिलको मात्र विवाह हुन बाँकी थियो । दुई दिदीको पनि विवाह भइसकेको छ भने बहिनी पढ्दै छिन् आफुहरुले आगनीको डिलमा सारेका मखमली पुष्पगुच्छाहरु हरक्षण अनिलको स्वागतार्थ फैलिइरहेका हुन्छन् अनिल घरमा उपस्थित नहुँदा मखमली फुलले समेत आफुले चाहेको व्यक्तिलाई सिंगार्न पाएको छैन । चाडपर्वमा छरछिमेकका घरहरुमा खुशीयाली छाउँदा उनको घर भने अन्धकारमय बन्छ ।
अनिल जिल्लाकै सन्दर्भमा दश बर्षे द्वन्दकालिन समयमा राज्यबाट बेपत्ता भएका मध्ये जिल्लाकै एक मात्र बेपत्ता नगरिक हुन् । डाडामाथिको घाम बनिसकेको उमेरमा बेपत्ता छोराको खोजीमा पटुकीमा नागरिकता राखेर भौतारिंदै गाउँदेखि शहरसम्म ओहोरदोहोर गर्ने उनलाई आजकल दैनिकी नै बनेको छ । अझै पनि छोरो फर्केने आश मारेकी छैनन् उनले । ‘नमारेको भए एक दिन न एक दिन त आउला नि घर सम्झेर’ आँखाका परेलीमा आशुलाई थाम्दै उनले पिडा दर्शाइन् । शान्ति प्रक्रिया शुरु भएको लामो समय वितिसक्दा छोरो घर नफर्केपनि छोराको खोजिका लागि त दिनरात न त घामपानीको प्रवाह छ उनलाई, न भोक निद्राको नै ।

घर भित्र पारिवारिक धन्दामा रहेका बेला घरमा आएका कुनै आगन्तुक पाहुनाले ‘आमा’ भनेर आंगनबाट बोलाउँदा छोरालाई सम्झंदै हस्याङ र फस्याङ गर्दै बाहिर निस्किन्छिन् उनी । अनि बाहिर निस्कंदा आफुले सोचेको व्यक्तिलाई देख्न पाउँदिनन् र आगन्तुक पाहुनालाई स्वागत पुर्व नै छोराको सम्झना र यादलाई बेदनाका रुपमा पस्कने गर्छिन् । अनिल माओवादीको भातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध रहेको र त्यसैकारण सेनाले उनलाई लगेको छोराका साथीहरुबाट उनले थाहा पाइन् । सेनाले क्याम्पसबाट पक्रेर फुलबारी व्यारेकमा लगिएको सम्म जानकारी छ उनलाई । अहिले उनीलाई जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले कुनै औपचारिक कार्यक्रम आयोजना गर्दा अतिथिको पमा सम्मान गर्ने गरेका छन् जतिसुकै मान सम्मान र आश्वासनहरु पाएपनि चर्किएको घाउमा मलम लगाउने कोही छैन उनको । द्वन्दपिडितका नाउमा राहत स्वरुप सानोतिनो रकम हात परेपनि उनलार्य त्यसको कुनै औचित्य छैन । छोरा आउने बाटो कुरेर पिंढीको ढिलमा झोक्राउनु उनको दैनिकि जस्तै बनेको छ ।

कुनैबेला टेलिफोन म्यासेन्जरले फोनको खबर लिएर आउँदा हतार हतार गर्दै एक घण्टाको बाटो धाएर फोनमा पुग्छिन् फोनमा जाँदा जांदै अनिलको बोलिको आश गरेकी उनले त्यो समेतपाउन सक्दिनन् । गाउंमा खेतिपातीको भरमा जीवन गुजार्दै आएको उनको परिवारलाई खेतिपाती स्याहार्न समेत धौधौ परेको छ, तैपनि गाउं र समाजको सहयोग पाइरहेको बताउँछिन् गुमादेवी ।