
खेमानन्द पाठक/
कपिलबस्तु, १३ मंसिर । आसन्न प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचनकालागि जिल्लामा चुनावी सरगर्मी बढेपनि बाणगंगा चेतीयाका मतदातालाई चुनावले छुन सकेको छैन । राजनीतिक दलहरु प्रचार प्रसारका कार्यक्रम कोणसभा, आमसभा, भेला तथा घरदैलो र मतदाता भेटघाटका कार्यक्रम गरिरहेपनि चेतीयामा त्यस्ता कुनै कार्यक्रम अहिलेसम्म भएका छैनन् । केहीदलले भने पप्पलेटसम्म टासेका स्थानीय भुपराज पाठकले बताउनु भयो ।
प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक भएकाले समानुपातिकमा समेत गरि तीन वटा मतपत्रमा मत दिनुपर्छ । यस विषयमा मतदातालाई मतदान शिक्षा समेत कसैले नदिएको उहाँले बताउनु भयो । ‘चुनाव प्रचार गर्न पनि कोही आएको छैन, मत कसरी दिने भनेर सिकाउन पनि कोही आएको छैन ।’ उहाँले भन्नुभयो–‘कसरी भोट दिने हो हामीलाई केही थाहा छैन ।’
चुनाव आउन अव धेरै दिन बाँकी छैन । त्यहाँका जनताले धेरै पटक धेरै नेतालाई भोट दिए । तर गाउँको बिकासमा कसैले ध्यान नदिँदा भोट दिन पनि जाँगर नलागेको स्थानीय अगुवा विष्णु पाठकले बताउनु भयो । यस अंगाडीका चुनावमा नेताहरुले धेरै आश्वासन दिएका थिए । आश्वासन अनुसारका काम नहुँदा त्यहाँका मतदाताले चित्त दुखाएका छन् । अहिलेको चुनावमा जसले त्यो गाउँको बिकासको प्रष्ट योजना ल्याउँछ र बाटो बनाईदिन्छ त्यसैलाई भोट दिने उहाँले बताउनु भयो ।
चेतीयादेखि चारनम्बर जितपुर जोड्ने बाटो पहिले निकै चलहपहल थियो । तर अहिले बिस्तारै साँघुरो हुँदै गएको छ भने वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छ । बाँगागंगा नगरपालिकामा चेतीयालाई जोडीएपछि त्यहाँका जनतालाई केही आशा पलाएको थियो । तर नगरपालिकाले पनि खासै वास्ता नगरेको स्थानीय बताउँछन् । वर्षातको समयमा हिलो र हिउँदमा धुलोका कारण दैनिक आवत जावत गर्ने मानिसहरु तथा बिद्यालय जाने आउने बालबालिकालाई धेरै समस्या भएकाले आफूहरुको पहिलो माग सडक पिच गर्नुभपर्ने स्थानीय युवा डोलराज भण्डारीले बताउनु भयो ।
तीन निर्वाचन क्षेत्र रहेको कपिलबस्तुको चेतीया क्षेत्र नं. १ मा पर्दछ । लामोसमय नेपाली काँग्रेसले जित्दै आएपनि दोस्रो संविधान सभा निर्वाचनमा थोरै मतले मात्रै एमालेका बलराम अधिकारीले जित्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस उम्मेदवारले नै जितेकाले अहिले पनि काँग्रेसले नै जित्ने धेरैले अनुमान गरेका छन् । ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने नेपाली उखान जस्तै चेतीयाको बिकासमा कसैले ध्यान दिएन ।
कपिलवसतुमा नेपाली काँग्रेस, एमाले माओबादी केन्द्रको बाम गठबन्धन, संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, माले नयाँ शक्ति र स्वतन्त्र गरी १८० जना फरक फरक दलबाट चुनावी मैदानमा उत्रेका छन् । कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनीधि सभामा भारतका लागी पुर्व राजजुत दीपकुमार उपाध्याय र बाम गठबन्धनबाट माओबादी केन्द्रका नेता चक्रपाणी खनाल (बलदेव) बिच प्रतिस्पर्धा छ ।