बुटवल, १५ मंसिर/रुपन्देही क्षेत्र नं. २(१) बाट प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार काजिमान श्रेष्ठले मजदुर हक हित संगै सुकुम्बासी समस्या समाधानकालागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।
आफ्नो क्षेत्र अन्तरगत पर्ने तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को घरदैलो तथा मतदाता भेटघाटका क्रममा मजदुर नेता समेत रहनुभएका उम्मेदवार श्रेष्ठले राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व मजदुरले गरेको स्मरण गर्दै मजदुरहरुका हकअधिकार स्थापित गर्न कुनै कञ्जुस्याँई नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले रुपन्देहीको पनि आफ्नो क्षेत्रमा ठूलो समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधानकालागि दृढ संकल्प गरेको उल्लेख गर्नुभयो ।
घरदैलोका क्रममा मतदाताबाट सकारात्मक प्रतिकृया पाएको बताउनु भयो । मतदाताको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताउँदै निर्वाचनका क्रममा गरेका बाचा पूरा गर्नकालागि प्रतिवद्ध भएर लाग्ने मतदातालाई विश्वास दिलाउनु भएको थियो ।
आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले तिलोत्तमा मेडिकल कलेज बनाउने लिखित रुपमा नै प्रतिवद्धता गरेकाले गरेको प्रतिवद्धता पुरा गर्ने क्रममा सधै सकारात्मक सुझाव सल्लाहकालागि मतदातालाई आग्रह समेत गर्नुभयो ।
नेपाली काँग्रेसले २ नम्बर क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकामा मेडिकल कजेल, बुटवलमा बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वबिद्यालय र सैनामैना नगरपालिकामा इञ्जिनियरिङ् क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
यसैबिच क्षेत्र नं. २ रुपन्देहीका प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठलाई नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) रुपन्देहीले विजयको शुभकामना दिएको छ । नेपाली काँग्रेसले मजदुर बर्गको सम्मान गर्दै मजदुर फाँटमा क्रियाशिल मजदुर नेता श्रेष्ठलाई प्रदेश सभाको उम्मेदवार बनाएकोले सबै मजदुरहरु एक ढिक्का भएर मजदुर नेतालाई विजयी बनाउने बताएका थिए ।
काउन रुपन्देहीका अध्यक्ष बिरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवार श्रेष्ठले आफू विजयी भएको खण्डमा मजदुरका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैबीच नेपाली काँग्रेसद्धारा निर्वाचन क्षेत्र नम्बर २ मा गठित टोल विकास संस्था परिचालन समितिका संयोजकहरुको भेलाले आ आफना वडामा मतदाता शिक्षा संचालन गर्ने र क्रिर्याशिल सदस्यहरुलाई समेत प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको संयोजक यज्ञ प्रसाद पगेनीले बताउनु भयो । भेलामा ९ वटा टोल समितिका संयोजकहरुका सहभागिता रहेको थियो ।