सुशिल कोईरालालाई प्रधानमन्त्रीमा उठाउनु कमजोरी भयो : भण्डारी

554

सुशिल कोईरालालाई प्रधानमन्त्रीमा उठाउनु कमजोरी भयो : भण्डारी

बुटवल, २७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीका तत्कालिन सभापति सुशिल कोईरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाउनु नेपाली काँग्रेसको कमजोरी भएको बताउनु भएको छ । उहाँले त्यहीबाट नेपाली काँग्रेस कमजोर बन्दै गएको दावी गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले अहिलेको निर्वाचन परिणाम त्यसैको उपज भएको जिकिर गर्नुभयो ।

जारी संविधान प्रति असन्तुष्टि व्यक्त गरेर भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता बाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण पनि नेपाली काँग्रेसले हार व्यहोर्नु उहाँको भनाई छ ।

निर्वाचनकालागि बिकासका एजेण्डाले काम गर्नुपर्ने भएपनि अहिलेको निर्वाचनमा बिकासका एजेण्डाले समेत काम नगरेको उहाँले टिप्पणी गर्नुभयो । ‘मुलुकमा धेरै राजनीति भयो, राजनीतिको रोगलाई बिकास बाहेक कुनै एन्टिवाईटिकले निको पार्न सक्दैन ।’ उहाँले भन्नुभयो–‘गुल्मीमा बिकासको ईन्जेक्सनले समेत काम गर्न सकेन ।’

२०७० सालमा भएको दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएपछि आफूले संविधान निर्माण संगै गुल्मीको बिकासमा धेरै काम गरेको दावी गर्नुभयो । दोस्रो संविधान सभा निर्वाचनमा आफूले संविधान बनाउने र सिद्धबाबा क्षेत्रको बाटोको वैकल्पिक व्यबस्था गर्ने प्रतिवद्धा गरे अनुरुप ढोरपाटनको बाटो गुल्मीमा जोडेको बताउँदै त्यसबाहेक जिल्लामा ४२ वटा पुल, ७२ वटा सडक र ७३ वटा खानेपानी योजना सहित शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै बजेट पारेर बिकासका काम गरेको दावी गर्नुभयो ।

गत यहि मंसिर २१ गते सम्पन्न गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा पराजित नेता भण्डारीले पार्टीले हार व्यहोर्नुमा नेतृत्व सहित पार्टी पंक्तिका सबै नेता दोसी भएको बताउँदै नेतृत्व परिवर्तनमा जोड दिनुभयो । ‘नेतृत्वमा देश बनाउने सोंच, बिचार र आईडिया नै छैन, नेपाल कमजोर हुनुको कारण नेतृत्व नै हो ।’ उहाँले भन्नुभयो–‘मुलुक बनाउने हो भने हरेक पार्टीमा नेतृत्व परिवर्तन हुन आवश्यक छ ।’

सम्पन्न भएको प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीले हार व्यहोरेपछि नेतृत्वको आलोचना हुने र नेतृत्वको संरक्षण गर्ने प्रबृत्ति दुबै गलत भएको उहाँले बताउनु भयो । नेताहरुको नाम नलिईकनै उहाँले भन्नुभयो–‘एउटाले चर्का कुरा गरेर अंगाडी बढ्न खोज्नु र अर्काले नेतृत्वको ददाली गरेर अंगाडी बढ्न खोज्ने प्रबृत्ति दुबै राम्रो होईन ।’