बुटवल, १२ पुस । रुपन्देहीको देवदहमा क्रिकेट खेलाडी स्वर्गीय दीपक पाण्डेको स्मृतिमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । देवदह क्रिकेट युनिटको आयोजनामा यहि पुसको १५ गतेदेखि ‘दीपक पाण्डे स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता २०७४’ हुन लागेको हो ।
देवदह क्रिकेट युनिटका खेलाडी पाण्डेको गत मंसिर १३ गते काठमाण्डौबाट फर्किने क्रममा त्रिसुलीमा बस खस्दा निधन भएको थियो । त्यो दुर्घटना हुन भन्दा अंगाडी युनिटमा भएको बैठकमा उनले क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । देवदह ९ बुद्धनगर निवासी स्वर्गीय पाण्डे देवदह क्रिकेट युनिटका प्रतिभाशाली खेलाडी भएको र उनी सुपरलिग सम्मका खेल खेलिसकेका थिए ।
उनको प्रस्तावलाई साकार पार्नकालागि उनकै नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको बुधबार देवदह क्रिकेट युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा युनिटका अध्यक्ष रवी रेग्मीले बताउनु भयो ।
१५ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रुपन्देहीका ए डिभिजनका ८ सहित पाल्पा, नवलपरासी र चितवन गरि २४ टिम दर्ता भईसकेका छन् । देवदहको सितलनगर स्थित खेल मैदानमा हुने प्रतियोगितामा दैनिक दुईवटा प्रतिस्पर्धा गराईने खेल संयोजक बिकास श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा विजेतालाई ५५ हजार ५५५ रुपैँया तथा उपविजेतालाई २५ हजार ५२५ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिसिज र वेष्ट वलरलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रतियोगि टिमलाई प्रवेशकालागि ५ हजार ५५५ रुपैंया ईन्ट्रि शुल्क निर्धारण गरिएको आयोजक युनिटले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई प्रदान गरिने नगद पुरस्कार स्वर्गीय पाण्डेका पिता रामप्रसाद पौण्डेले सौजन्य गर्नुभएको विनोद भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्नका लागि बिभिन्न संघसंस्थाले सहयोग गरेका छन् । प्रतियोगितामा २ लाख ८५ हजार रुपैंया लाग्ने अनुमान गरिएको केही रकम नपुग हुने आयोजकले बताए ।