बालबालिकालाई स्वीटर तथा जुत्ता–मोजा

957

बालबालिकालाई स्वीटर तथा जुत्ता–मोजा

बुटवल, १४ पुस । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले सञ्चालन गरेको अनौपचारिक बाल शिक्षा कार्यक्रमका बालबालिकालाई जाडोमा लगाउने स्वीटर, तथा जुत्ता–मोजा प्रदान गरेको छ ।

जापान अन्तर्राष्ट्रिय लेवर फाउण्डेसन (जिलाफ)को सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले नेपालका बालमजदुरलाई लक्षित गरि ९ जिल्लामा अनौपचारिक बाल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । बुटवलको उजिरसिंह माबिमा सञ्चालन गरिएको अनौपचारिक बालशिक्षा कार्यक्रममा ५० जना बालबालिकाले अनौपचारिक शिक्षा लिएका छन् । उनीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले शुक्रबार एक कार्यक्रमका बिच स्वीटर तथा जुत्ता–मोजा प्रदान गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता महाधिवेशन प्रतिनीधि युवराज गिरीले बालबालिकाको पहिलो पाठशाला आफ्नै घर भएको बताउँदै घरबाटै शिक्षाकालागि अभिप्रेरित गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले मालमजदुर तथा विपन्न मजदुरका बालबालिकालाई लक्षित गरेर मजदुरहरुको संस्थाले अनौपचारिक रुपमा शिक्षा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले आजका बालबालिका भोलीका देशका कर्णधार भएकाले मुलुकको राम्रो भविश्यकालागि पनि बालबालिकाको पठन पाठनमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रेश्मीराज गैरे, नारायण खनाल लगायतले भनाई राखेका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेसले उनीहरुलाई तीन बर्षे अनौपचारिक बालशिक्षा कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा मार्फत पढ्ने बालबालिकालाई प्रत्येक वर्ष किताव कापि, बिद्यालय पोशाक, स्वीटर, जुत्ता मोजा लगायतका शैक्षिक सामाग्रि प्रदान गर्ने गर्दछ ।