बुटवल, २३ पुस । युवा व्यबसायी बसन्त पौडेल (बलु)को हत्याको बिरोधमा व्यबसायिक संघ संस्थाले आईतबार बुटवलमा मौन जुलुस प्रदर्शन गरेका छन् । रुपन्देहीको देवदह निवासी ३५ वर्षीय व्यबसायी पौडेलको हत्याको बिरोध तथा व्यबसायिक सुरक्षाको माग गर्दै व्यबसायिक संघसंस्थाहरुले मौन जुलुस निकालेका हुन् ।
व्यवसायिक संघ सस्थाहरुको सञ्जालको आब्हानमा भएको बृहत मौन जुलुसले बुटवल बजार परिक्रमा गरेको थियो । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको मौन जुलुस, मिलनचोक, अस्पताललाइन, अमरपथ हुदै ट्राफिक चोकमा पुगेर समापन गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, पश्चिम नेपाल वस व्यवसायी संघका महासचिव जीवन बञ्जाडे, रुपन्देही व्यापार संघका तथा उद्योग व्यापार संगठन बुटवलसहित विभिन्न संघ सस्थाका पदाधिकारीले मौन जुलुसको नेतृत्व गरेको छन् ।
जुलुसमा उद्योगी व्यवसायी, राजनीतिक दलका कार्यकर्ता, विद्यार्थी तथा स्थानीयले सहभागिता जनाएका थिए । उद्योगी व्यवसायीहरुले यस्ता खालका क्रुर र अमानवीय घटना प्रति व्यवसायी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै सुरक्षाको ज्ञारेण्टी गर्न माग गर्दै आएका छन् । श्रृंखलाबद्घ ढंगबाट निरन्तर घटिरहेका यस्ता खालका दुखद् र त्रासदिपूर्ण घटनाले व्यवसायिक सुरक्षा प्रति प्रश्न चिन्ह खडा भएको भन्दै उनीहरुले जिल्लाको व्यवसायिक क्षेत्र अन्योल बनेको बताएका छन । उनीहरुले हत्याको भत्र्सना गर्दै हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडा कारवाही गर्न र व्यवसायिक सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग गरेका छन् ।
एमालेको भातृ संगठन युवासंघका नेता समेत रहेका पौडेलको हत्याको बिरोधमा युवासंघले शनिबारदेखि गरेको अनिश्चित कालिन बन्द आईतबार पनि जारी रह्यो । हत्यारालाई पक्राउ गरी कारवाही गर्नुपर्ने तथा सुरक्षाको माग गर्दै युवा संघले अनिश्चित कालिन जिल्ला बन्दको आह्वान गरेको हो । बन्दका कारण यातायात, उद्योग व्यापार सबै ठप्प छन् । बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएका छन् ।
युवा संघका नेता तथा युवा व्यबसायी पौडेलको देवदह नगरपालिका वडा नं. २ ढेकावर स्थित आफ्नै उद्योगमा बसीरहेको अवस्थामा शुक्रबार बिहान करिव सवा ११ बजेको समयमा गोली हानी हत्या भएको थियो ।