
बुटवल, २४ पुस । बुटवल उपमहानगरपालिका वडा नं. ४ मा क्रियाशिल लक्ष्मिनगर बिकास केन्द्र बुटवलमा हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको छ ।
सोमबार एक कार्यक्रको आयोजना गरि नव निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा बोल्दै कपिलबस्तु क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रदेश सांसद विष्णु पन्थीले मुलुकको समृद्धिकालागि अवको पाँच वर्ष बिकासमा खर्चिनुपर्ने भनाई राख्नुभयो ।
उहाँले लक्ष्मीनगर बिकास केन्द्रमा नवनिर्वाचित कार्यसमितिले नगरको समृद्धिका लागि काम गर्न सुझाव दिनुभयो । उहाँले बुटवल आउने पर्यटकलाई लक्ष्मीनगर पुगेर मात्रै फर्किने वातावरण बनाउनकालागि पर्यटक भित्र्याउने कार्यक्रम अंगाडी सार्न समेत सुझाव दिनुभयो ।
पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष परमानन्द भट्टराईले सबैको सुझाव सल्लाह अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले लक्ष्मीनगरबासीको तथा संस्थामा रहेका काम गरेका व्यक्तिहरुसंग साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो ।
त्यस्तै निवर्तमान अध्यक्ष बाबुराम ढकालले आफू बिधान अनुसार कार्यसमिति मै रहने भएकाले लक्ष्मीनगरको बिकासमा काम गर्ने र कार्यसमितिलाई पूर्ण रुपमा साथ र समर्थन गर्ने बताउनु भयो । निर्वाचन समितिका संयोजक तथा बुटवल वडा नं. ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य हरि घिमिरे, बाबुराम बिक लगायतले शुभकामना व्यक्त गरेका थिए ।