बुटवल, २५ पुस । बुटवलमा सञ्चालित विद्युतीय रिक्सा व्यवस्थापन गर्न माग गर्दै संघर्षरत संयुक्त ई–रिक्सा सञ्चालन व्यवस्थापन समितिले मंगलबार बुटवल उपमहानगरपालिकामा धर्ना दिएको छ । अबरूद्ध रूट तथा दर्ता सिफारिस प्रक्रिया सुचारू गर्न माग गर्दै बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।
बुटवल उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा व्यवस्थापन नगरेपछि समितिले दबाबमूलक संघर्षका कार्यक्रम गर्दै आइरहेको छ । रिक्सा व्यवसायी संघका सचिव गोपाल रिजालले आफूहरूका माग पूरा नहुँदासम्म हरेक दिन दुई घण्टा नगरपालिकामा धर्ना दिइरहने बताउनु भयो । रिक्सा चालक र व्यवसायी संघले ‘नगरमा सूचीकृत ई–रिक्सा दर्ता गर । सरल र सहज रूपमा गरीखान पाउने अधिकारको प्रत्याभूति गर’ नारा तय गरी पुस १९ गतेदेखि निरन्तर संघर्षमा छन् ।
तीन वर्षदेखि सञ्चालनमा रहेका विद्युतीय रिक्साले नगरवासीलाई सेवा प्रदान गरेपनि उपमहानगरले रुट निर्धारण तथा संख्याको व्यवस्थापन नगर्दासम्म संघर्ष जारी रहने संघका अध्यक्ष कृष्णप्रसाद तिवारीले बताउनु भयो । विद्युतीय रिक्सा लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयले दर्ता गर्नुपर्ने लुम्बिनी ई रिक्सा व्यवसायी संघका महासचिव प्रेम थापाले बताउनु भयो ।