बुटवल । औषधी खाध्यान्न लगायत अत्यावश्यक सामाग्रिको आपूर्तिमा भईरहेको अवरोधले नागरिकको अधिकार हनन भएको भन्दै एमनेष्टिले चिन्ता व्यक्त गरेको छ ।
एमनेष्टि इन्टरनेशलन नेपालको बुटवलमा सम्पन्न साधारण सभाले आपूर्ति व्यबस्थापनकालागि तत्काल पहल गर्न सरकारसंग माग गर्दै त्यसकालागि छिमेकी भारत लगायतका मुलुकहरुले सहयोग पु¥याउन आह्वान पनि गरेको छ ।
एमनेष्टि इन्टरनेशनल नेपालको यहि कात्तिक १९ देखि २१ गतेसम्म बुटवलमा भएको २४ औं वार्षिक साधारण सभा (परिषद बैठक) भएको थियो । परिषद बैठक समापन पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुर्यबहादुर अधिकारीले यससंगै नेपालमा बिद्यमान दण्डहिनता अन्त्यकालागि पनि बिशेष प्रस्ताव पारित गरेको बताउनु भयो ।
गम्भिर प्रकृतिका मानवअधिकार उलङ्घन र ज्यादतीमा संलग्न जो कोहिलाई पनि अबिलम्ब न्यायिक कारवाहीको प्रकृयामा ल्याउन, यस्ता आरोपमा मुद्धा चलाईएकाहरुको सम्बन्धमा अदालतका आदेशहरुको पालना गर्न र अन्तराष्ट्रिय कानुनले अपराध भनि किटान गरेका घटनाका दोषीहरुको मुद्धा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पिडित र तिनका परिवारलाई न्याय र परिपुरणको व्यबस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसंग आग्रह गरिएको महासचिव करुण खनालले जानकारी गराउनु भयो ।
सधारण सभाले दण्डहिनता अत्यकालागि तत्काल कदम चाल्न प्रस्ताव पारित गर्दै सरकारलाई आह्वान गरेको छ । हत्या, अपहरण, यातना, वेपत्ता पार्ने कार्य तथा यौनजन्य ज्यादती जस्ता गम्भिर अपराधका घटनाका दोषीलाई कानुनी कारवाही र पीडितलाई न्याय सुनिश्चित गर्नु अनिवार्य भएको भन्दै नेपालमा त्यस अनुरुपका कामहरु हुन नसकेको पनि साधारण सभाले निश्कर्ष निकालेको छ । त्यस्तै द्वन्द्वकालमा भएका मानव अधिकार हननका एउटा पनि घटनामा अदालतका आदेशका वावजुद कसैलाई सजाय नगरिनुले दण्डहिनताको अवस्था रहेको निश्कर्ष निकालिएको पनि पत्रकार सम्मेलनमा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
तीन दिनसम्म चलेको साधारण सभाले बैदेशिक रोजगारीमा जाने नेपाली आप्रवाशी श्रमिकहरु उपर भईरहेको शोषण, जवरजस्ती श्रम र मानव बेचविखन रोक्नकालागि बैदेशिक रोजगार ऐन २०६४ लगायतका कानुनहरु कार्यान्वयन र सरकारी संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
एमनेष्टि इन्टरनेशलन नेपाल राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरुले राजिनामा गरेपछि रिक्त रहेको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र महिला सहित ३ सदस्य पदमा भएको रिक्तताको पनि परिषद बैठकबाट पूर्णता दिईएको छ । जसमा उपाध्यक्षमा ध्रुव राय, महासचिवमा करुण खनाल, कोषाध्यक्षमा हिरा शर्मा नेपाल, महिला सदस्यमा लक्ष्मी तिवारी र दुई खुला सदस्यमा पदमसुन्दर लामिछाने र धनप्रसाद रेग्मी निर्वाचित हुनु भएको छ ।