गुल्मी(जुभूङ्ग), ३० पुस । काब्रेपोखरी माध्यमिक विद्यालय गुल्मीदरवार–२, जुभूङ्ग झिर्वास गुल्मीको ६४ औं वार्षिकोत्सव आज सम्पन्न भएको छ ।
विद्यालयले बार्षिकोत्सवको अवसरमा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न वक्तृत्वकला, खेलकुद, विज्ञान प्रदर्शनी लगाएतका कार्यक्रम गरेको छ । वि.सं.२०११ सालमा स्थापना भएको विद्यालयमा नर्सरी देखि कक्षा ६ सम्म अंग्रेजी माध्यममा पढाई हुदै आएको छ । कक्षा ९ देखि १२ सम्म नेपाली माध्यममा पढाई हुने गरेको छ ।
कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पढाई हुने गरेको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र खड्काले जानकारी दिनुभयो । कक्षा ८, ९ र १० मा कम्प्युटर कक्षा समेत संचालन हुदै आएको छ । विद्यालयमा २१ शिक्षक र तीन सय १३ विद्यार्थी रहेका छन् । विद्यालयमा विभिन्न विद्याका ११ सय पुस्तक सहितको पुस्तकालय र कम्प्युटर ल्याव समेत रहेको छ ।
विद्यालयले २०७३ सालको एसईइ परीक्षामा ए प्लस विवेक खड्का सहित विषयगत रुपमा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकलाई सम्मान गरिएको थियो । बार्षिकोत्सव अवसरलाई सम्बोधन गर्दै गुल्मी दरवार गाउंपालिकाका अध्यक्ष अशोक कुमार थापाले शिक्षा क्षेत्रको समग्र विकासको लागि गाउंपालिकाले योजना बनाएर अघि बढ्न लागेको जानकारी दिनुभयो ।
शिक्षाको समग्र विकासको लागि स्थानिय तह लागेको भन्दै प्रतिस्पर्धी बजारमा प्रतिभावान विद्यार्थी उत्पादन गर्न सरोकारवाला निकाय लाग्नु पर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर खड्काको सभापतित्व शिक्षक श्रीराज खड्काको स्वागत र शिक्षक ज्ञान बहादुर खड्काको स्वागतमा भएको कार्यक्रममा विद्यालय निरीक्षक विष्णु प्रसाद ज्ञवाली, नेपाल प्रहरीका पुर्व एआईजी प्रताप सिंह थापा, गुल्मी दरवार–२ का वडा अध्यक्ष हरिहर गौतम, स्रोत व्यक्ती खिम बहादुर महत, वडा सदस्य हेमन्त खड्का, नेपाल शिक्षक संघ गुल्मीका सचिव खिमबहादुर थापा, पुर्व विद्यार्थी एवं समाजसेवी केशर सिंह सारु, समाजसेवी विष्णु प्रसाद गौतम, विद्यार्थीहरु समिर खड्का, अशोक थापा, शसांक खड्का लगाएतले विद्यालयले विविध समस्यामा वापजुद प्रगति गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।