
बुटवल, पुस । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको पाँचौ जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएको छ । युनियनको शनिबार बुटवलमा भएको बैठकले जिल्ला अधिवेशन आगामी फागनु ७ गते गर्ने निर्णय गरेको हो ।
बैठकले ट्रेड युनियनको अविधेशन अंगाडी आवद्ध संस्थाहरुको माघ २७ भित्रै इकाई हुँदै जिल्ला अधिवेशन गरिसक्न समेत आग्रह गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेसमा १९ वटा आवद्ध संस्था छन् भने होटल तथा पर्यटन मजदुर संघ आवद्धताकालागि प्रकृयामा रहेको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसले पछिल्लो समयमा सदस्यता अध्यावधिक अभियानलाई प्रभावकारी रुपमा अंगाडी बढाएको छ । सदस्यता अध्यावधिक नगरिकनै अहिलेको अधिवेशनमा भाग लिन नपाउने भएकाले जिल्लाले समेत सोही अध्यावधिक अनुसार अधिवेशनको तयारी गरेको छ । त्यसकालागि आवद्ध संस्थाहरुले माघको २० गते भित्रै सदस्यता अध्यावधिक गरि प्रमाणित गर्नुपर्ने र सोही अनुसार शुल्क समेत बुझाएर मात्रै जिल्ला तथा केन्द्रीय अधिवेशनमा सहभागि गराईने भएकाले निर्धारित मिति भित्रै सदस्यता अध्यावधिक गर्न तथा शुल्क बुझाउन आवद्ध संस्थाहरुलाई आग्रह गरिएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी बैशाख १८, १९ र २० गते गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनमा सदस्यता अध्यावधिक भए अनुसार प्रतिनीधित्व हुने भएकाले आवद्ध संस्थाहरुलाई सदस्यता अध्यावधिक बाध्यकारी भएको हो ।
मजदुरहरुको स्थापित हकाधिकार अनुसार प्राप्त हुने सुविधाको सहि सदुपयोग गर्नकालागि सदस्या अध्यावधिक गर्ने कामलाई प्रभावकारी रुपमा अंगाडी बढाईएको नेपाल ट्रेड युनियन काँग्रेसले जनाएको छ । सदस्यता अध्यावधिक गर्दा सदस्यको नाम, काम गर्ने प्रतिष्ठान, नागरिकता लगायतका व्यक्तिगत विवरण हुने भएकाले डुव्लिकेसन हुने, राज्य तथा युनियनका माध्यमबाट वितरण गरिने राहत लगायतका कार्यक्रमको गैर सदस्यले फाईदा उठाउन नपाउने तथा फर्जी मतदाता खडा हुने लगायतका समस्या स्वतः अन्त्य हुने विश्वास गरिएको छ ।
जिल्ला अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्, ट्रेड युनियनका निवर्तमान जिल्ला अध्यक्ष रेश्मीराज गैरे, उपाध्यक्ष रामचन्द्र उपाध्याय, मुक्तिप्रसाद खरेल, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष विश्वबन्दु विनयी, प्रेस युनियनका सचिव तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका युवा समिति अध्यक्ष कबिन्द्र नेपाल, बुटवल नगर संयोजक किशोर क्षेत्री लगायत आवद्ध संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले भनाई राखेका थिए ।