मकर संक्रान्तीको अवशरमा रुरु धाम कालीगण्डकीमा श्रद्धालुको घुँईचो

1.3K

मकर संक्रान्तीको अवशरमा रुरु धाम कालीगण्डकीमा श्रद्धालुको घुँईचो

जनार्दन घिमिरे/
गुल्मी, १ माघ । गुल्मीको धार्मिक क्षेत्र रिडी स्थीत काली गण्डकीमा मकर संक्रान्तीको अवशरमा विगत वर्षहरु जस्तै यस पटक पनि दिनभर श्रद्धालुहरुको घुँईचो लागेको छ । मकर संक्रान्तिको दिन स्नान गर्नका लागि टाढाटाढादेखि हजारौं श्रद्धालु काली गण्डकीको किनारमा सोमवार बिहानैदेखि जम्मा भएका थिए ।

रुरु क्षेत्रधाम अन्र्तगत रिडी स्थीत काली गण्डकी नदिमा स्नान गरेपछि श्रद्धालुहरु नजिकै रहेको रिषीकेश मन्दिरमा पुगेर भगवानको पुजा आराधना गर्ने प्रचलन छ । मन्दिरमा पुगेर पुजाआराधाना गरेपछि अन्जानका गरेका पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने विश्वास छ । गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, वाग्लुङ्ग, रुपन्देही, दाङ, सल्यान, प्यूठान लगायतका जिल्लाहरुवाट समेत श्रद्धालुहरु काली गण्डकी नदिमा स्नानकालागि संक्रान्तिको अघिल्लो दिननै रिडी आएर वास बस्ने गर्दछन् ।

विशेषगरि मकर संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वासका कारण श्रद्धालुहरु रिडी क्षेत्र धाममा आउने प्रचलन छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित रिडी क्षेत्र, धार्मिक, ऐतिहासिक, पौराणिक एवं पर्यटकीय दृष्टिकोणले समेत स्वदेश तथा विदेशमा निकै महत्वपूर्ण मानिन्छ । काली गण्डकीमा स्नान गरेर मन्दिर परिशरमा अवस्थीत रुरु कन्याको दर्शन गरेमा पनि पापहरुवाट मुक्ति भई मोक्ष प्राप्त हुन्छ भन्ने अर्को किंवदन्ती रहेको रुरु क्षेत्र विकास विकास समितिका अध्यक्ष रामलाल विश्वकर्माले बताउनु भयो छ ।

गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तिन दिनलाई मकर संक्रान्ति पर्व मानेर श्रद्धालुहरु काली गण्डकी नदिमा स्नान गर्न आउने प्रचलन छ ।मकर संक्रान्तिको अवसरलाई सदुपयोग गर्दै स्थानीय रुरु फ्रण्डन्स् क्लवले रिडीको खेल मैदानमा सोमवारदेखि नै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति सहित साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । रुरु क्षेत्रको महिमालाई अझ प्रचार प्रसार गर्नका लागि कृषि सामग्रि प्रर्दशनीदेखि पहिलो पटक रुरु क्षेत्रको फोटो प्रर्दशनी राखिएको छ । प्रर्दशनीमा रुरु क्षेत्रसँग सम्वन्धित एक सय भन्दा बढी तस्वीरहरु समावेश गरिएको छ ।

मकर संक्रान्तिको अवशर पारेर संचालन हुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी, पाखी, तथा बाँसका चोयाँवाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका बस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाहरुदेखि तीन दिन सम्मको यात्रा गरि मानिसहरु रिडी आई पुगेका छन् । मकर संक्रान्तिमा संचालन हुने मेलालाई व्यवस्थित गर्न गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधिहरुले चक्रिय प्रणालीमा अक्ष्यक्ष पदमा नेतृत्व लिनेगरि रुरु क्षेत्र विकास समितिको गठन गरेका छन् ।

रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीय स्थल रिडी क्षेत्रको विकास, त्यसको प्रचार प्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पुराउँदै आएको रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनु भयो ।