दुर्गा र बसन्तको हत्यामा एउटै पेस्तोलको प्रयोग

1.3K

दुर्गा र बसन्तको हत्यामा एउटै पेस्तोलको प्रयोग

बुटवल, ७ माघ । प्रहरीले रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं. ३ खैरेनी चोक बस्ने बलु भन्ने बसन्त पौडेलको हत्या अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

सो घटना पश्चात नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, संघीय प्रहरी ईकाइ कार्यालय भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय वुटवल समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पौडेलको हत्या गरी फरार भएका अभियूक्तहरुलाई सुक्ष्मरुपमा पहिचान एंव खोजतलास गर्दै जाने क्रममा जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं.७ अस्नैया बस्ने बर्ष ३६ को पदम चौधरी र जिल्ला सुनसरी डुमराहा ५ बस्ने बर्ष ३६ को महेन्द्र भन्ने महिनाराण चौधरीलाई पक्राउ गरी निजहरु उपर संगठितरुपमा कर्तव्य ज्यान मुद्धा अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । प्रहरीले पदमलाई चितवन र महिनारायणलाई पोखराबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथवाट लु ४ प १४ नम्बरको मोटर साईकल, ९ एमएम क्यालिवर इटालियन पिस्तोल १ थान र सो मा लाग्ने गोली ९ थान, २ थान कटुवा पिस्तोल र ५ थान गोली, घटनास्थलमा फेलापरेको बुलेट १ थान सहित ९९ हजार रुपैंया नगद बरामद गरेको छ ।

गएको पुस २१ गते विहान करिव सवा ११ वजे बर्ष ४३ का बलु भन्ने बसन्त पौडेललाई देवदह नगरपालिका वडा नं.२ ढेकार स्थित आफ्नै काठ फर्निचर मिलमा पहिचान नखुलेका व्यक्तिहरु मोटरसाईकलमा आई गोली प्रहार गरी फरार रहेका थिए । छातीमा गोली लागी घाईते भएका पौडेलको उपचारको क्रममा सोही दिन लुम्बिनी अञ्चल अस्पताल वुटवलमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गोली हान्ने विवेक भन्ने व्यक्ति फरार छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीका अनुसार सामान किन्न आएजस्तो गरि महिनारायणले पेस्तोल ताकेपनि केही हच्केको र सोही समयमा फरार रहेका विवेकले गोली हानेका थिए ।

अंघिल्लो वर्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यसको करिव ६ महिनामा मणिग्रामका व्यापारिलाई गोली प्रहार भएपनि छलिएको थियो । यी सबै घटनामा ईन्टर कनेक्सन भएको र मुख्य अभियुक्तको रुपमा प्रहरीले मनोज पुन भएको बताएको छ । यी सबै घटनामा एउटै पेस्तोल प्रयोग भएको ल्याव परिक्षणबाट पुष्टि भएको उहाँले बताउनु भयो ।

घटनामा ९ एमएम क्यालीवर ईटालियन पेस्तोल प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो । महिनाराणसंगै पक्राउ परेका पदमले अपराधको व्यबस्थापकीय भुमिका निर्वाह गर्ने तथा रेकी गर्ने र सूचना प्रवाह गर्ने गरेको उहाँले बताउनु भयो ।

आईतबार ईलाका प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक घनश्याम अर्यालले अनुसन्धान अपराधिको अत्यन्तै नजिक पुगेको र अव चाँडै नै मुख्य अभियुक्त समेत पक्राउ हुने जानकारी दिनुभयो । ‘दिन आउँछ, त्यो दिन टाढा पनि छैन, अपराधको जालो तोडेरै छाड्छौं ।’ रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले भन्नुभयो ।