नेपाली ब्राण्डको प्रवद्र्धनकालागि बुटवलमा जुत्ता मेला हुँदै

1.3K

नेपाली ब्राण्डको प्रवद्र्धनकालागि बुटवलमा जुत्ता मेला हुँदै

बुटवल, ८ माघ । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा जुत्ता मेला हुँदैछ । यहि माघको १० देखि १८ गतेसम्म हुने ‘तेस्रो जुत्ता मेला–२०७४’ मा ६ वटा काठमाण्डौका उद्योग सहित स्थानीय उद्योगबाट उत्पादित जुत्ता राखिने नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सुमोदमान सैंजुले जानकारी दिनुभयो ।

नेपाली जुत्ता घरको सहआयोजनामा बुटवलमा आठ दिनसम्म सञ्चालन हुने जुत्ता मेलामा नेपाली जुत्ता उद्योगहरु शिखर, बिएफ डियर हिल, शु ल्याण्ड, हाईलाईफ, रोयल शुज सहित स्थानीय जुत्ता उत्पादन कम्पनीका जुत्ता चप्पल रहने सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । नेपाली ब्राण्डेड जुत्ताहरुको आम उपभोक्तालाई जानकारी गराउने र नेपाली ब्राण्ड प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष सैंजुले जानकारी गराउनु भयो ।

‘स्वदेशी बस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलामा व्यापार गर्ने मात्रै नभई नेपाली जुत्ताको प्रवद्र्धन पनि गर्ने भएकाले गुणस्तरीय जुत्ता मात्रै मेलामा राखिने मेलाको सहआयोजक नेपाली जुत्ता घरका सञ्चालक सुरज वञ्जाडेले जानकारी गराउनु भयो ।

स्थानीय आवश्यकता अनुसारका जुत्ता उत्पादनकालागि पनि मेलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली जुत्ता घरले काठमाण्डौ भित्र र पोखरामा समेत गरि ५ वटा बिक्रि कक्ष सञ्चालन गर्दै आएको छ । त्यस बाहेक मुलुकका बिभिन्न स्थानमा समय समयमा विग सेलको आयोजना गर्दै आएको छ ।

मेलामा १ सय देखि १० हजार रुपैंया सम्मका नेपाली जुत्ता रहने र त्यसमा अधिकतम ७० प्रतिशत सम्म छुटको व्यबस्था मिलाईएको छ । उहाँका अनुसार डिजाईन फेज आउट भएका जुत्तामा बढी छुटको व्यबस्था गरिएको हो । बुटवलको बालमदिरमा हुने मेलामा मेला अवधिभर ५० हजार उपभोक्ताले अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ ।

बुटवल उद्योग बाणिज्य संघले संरक्षकत्व प्रदान गरेको नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले यस अंगाडी बुटवलमा दुई पटक जुत्ता मेला गरिसकेको छ । यो तेस्रो संस्करण हो । पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहले नेपाली उत्पादनको प्रवद्र्धनकै लागि संघले हरेक बस्तुको बस्तुगत मेलालाई जोड दिएको बताउनु भयो ।

२०४२ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला आयोजना गरिको बुटवल उद्योग बाणिज्य संघकै पहलमा विशिष्टिकृत कृषि मेला, जुत्ता मेला, दशैं सस्तो बजार, मोवाई मेला लगायतका बस्तुगत मेला सञ्चालन हुँदै आएका छन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, युवा उद्यमी मञ्च रुपन्देहीका उपाध्यक्ष सन्दिप कसौधन, जुत्ता मेलाका संयोजक प्रदिप शाक्य लगायतले भनाई राखेका थिए ।