
बुटवल, १० माघ । बुधबारदेखि बुटवलमा जुत्ता मेला सुरु भएको छ । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा भएको जुत्ता मेलामा नेपाली जुत्ता घरमा आवद्ध शिखर, बिएफ डियरहिल, क्रस रोड, शु ल्याण्ड, हाईलाईफ र रोयल गरी ६ उद्योगका उत्पादन छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ५ स्थित बालमन्दिरमा भएको जुत्ता मेलाको बुटवल उद्योग बाणिज्य संघमा पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले उद्घान गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै उहाँले यस्ता विशिष्टिकृत मेलाले उपभोक्ता र उत्पादकलाई जोड्न पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वदेशी बस्तुको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन गरिएको मेला बुटवल उद्योग बाणिज्य संघको संरक्षकत्व तथा नेपाली जुत्ता घरको सहआयोजनामा भएको हो ।
मेलाको उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले मुलुकमा लगानी मैत्री वातावरणको अभावका कारण भएका उद्योग धन्दा सञ्चालन गर्न पनि समस्या भईरहेको बताउनु भयो । उहाँले सरकारसंग लगानीमैत्री वातावरण बनाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले २०४४ साल यता नयाँ औद्योगिक क्षेत्र नबन्नु, उद्योग धन्दा सञ्चालन सम्बन्धि ऐन नियम बनेपनि कार्यान्वयनमा समस्या देखिनु जस्ता कारणहरुले उद्योग धन्दा सञ्चालन गर्न समस्या भएको बताएका थिए । मुलुकमा उद्योग धन्दा सञ्चालन गर्ने अवसर र सम्भावना भएपनि औद्योगिक वातावारण नहुँदा लगानीकर्ताहरु हच्किरहेको उनीहरुको भनाई थियो ।
त्यस्तै युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सुमोदमान सैंजुले स्वदेशी उत्पादन प्रवद्धनकालागि सुरु गरिएको जुत्ता मेला बुटवलमा तेस्रो संस्करण भएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले ६ वर्ष अंगाडी नेपाली जुत्ता घरको स्थापना गरि नेपालका चर्चित १० वटा ब्राण्डको संयुक्त सो रुप सञ्चालनमा ल्याएको बताउँदै यसले आपसमा स्वच्छ प्रतिस्पर्धा हुने र गुणस्तरीय उत्पादन गर्न मद्धत मिलेको बताउनु भयो ।