
बुटवल, १० माघ । युवा संघ रुपन्देहीले रुपन्देहीका हार्डवेयर व्यबसायीलाई अनिश्चितकालिन व्यबसाय बन्द गर्न आह्वान गरेको छ ।
संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गरि छड तथा सिमेन्ट उद्योगले मनोमानी रुपमा छड सिमेन्टमा मुल्य बृद्धि गरेको भन्दै मुल्य बृद्धि फिर्ता नहुँदा सम्म व्यबसायीलाई बिक्रि वितरण बन्द गर्न आग्रह गरेको हो ।
युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुल्य बृद्धि गर्नुपर्ने कुनै कारण नहुँदा नहुँदै भारी मुल्य बृद्धि गर्नुले उपभोक्तामाथि चरम शोषण भएको हामीले महसुस गरिएको र उपभोक्ता तथा व्यबसायिकै हितकालागि संघले लिएको कदममा व्यबसायीहरुले साथ र सहयोग हुन्छ भन्ने अपेक्षा गरिएको छ ।
युवा संघ नेपालले सोमबार प्रशासनलाई ध्यानाकर्षण गराएको थियो भने प्रशासनले समेत सुनुवाई नगरेको भन्दै मंगलबार लुम्बिनी कोरिडोरका उद्योगहरुमा तालाबन्दि गरिदिएको थियो । संघले उद्योगहरुमा ताला लगाईसकेकाले छड तथा सिमेन्टको ढुवानी भएमा ताडफोड लगायतका कारणबाट कुनै क्षती भए स्वयम् उद्योगीले जिम्मेवारी लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता मंगलबार युवासंघले उद्योगहरुमा लगायको ताला प्रहरीले फूटाएको छ । उद्योग सञ्चालनकालागि शान्ति सुरक्षाको प्रवन्ध मिलाईको भन्दै प्रहरीले ताला फोरेर उद्योग चालु गर्न उद्योगीहरुलाई आग्रह गरेको छ । प्रशासनले बुधबार उद्योगीहरुसंग छफलफ समेत गरेको थियो । छलफलका क्रममा प्रशासनले औद्योगिक सुरक्षाको लागि प्रवन्ध मिलाईएको र बिना हिचकिचावट उद्योग सञ्चालन गर्न प्रशासनले आग्रह गरेको रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले बताउनु भयो ।
त्यस्तै उद्योगहरुमा बन्द भएको अवस्थामा माल ढुवानी गरेको भन्दै युवा संघले बुटवल तथा देवदह नगरपालिकामा सिमेन्ट उद्योगका चार वटा गाडीमा तोडफेड गरेको युवासंघले जनाएको छ ।